बाँके, ९ असार ।
राप्तीसोनारी गाउँपालिका–१, गाभरमा कार दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, गाभरभन्दा दुई किलोमिटर पश्चिममा भएको दुर्घटनामा कार चालकसहित दुईजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ आइरहेको बा १४ झ २७८९ नं.को कार अनियन्त्रित भई सडकको दाहिने तर्फ खस्दा सडक छेउको रुखमा ठोकिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका–१२, चितवनका ४१ बर्षिय कमलराज लम्सालको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।
कारमा सवार पूर्वी नवलपरासी कावासोती–८ का २२ बर्षिय क्षितिजराज कुँवर गम्भीर घाइते भएका थिए । उनको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो ४ः३० बजे मृत्यु भएको उनले बताए । ‘कार तीव्र गतिमा रहेको र अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । कारमा दुई जनामात्र सवार रहेको प्रहरीले जनाएको छ ।