मृत्युपछि मात्र कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी त्रसित

बाँके, ४ असार ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक पछि अर्को कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँ कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारी त्रसित भएका छन् । कोरोनाका विरामी आउने क्रम जारी रहे पनि अस्पताल ब्यवस्थापनले सजगता नअपनाएपछि कोरोना सर्ने सम्भावना भएको त्यहाँ कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले बताएका छन् ।
बैजनाथ गाउँपालिका–६ की एक महिलालाई ३० जेष्ठको दिउँसो उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइयो । निमोनिया र ज्वरो आएर साँस फेर्न गाह्रो भएको विरामी भएकोले अस्पतालका स्वास्थ्यकर्मीले कोरोना परीक्षण गरेर मात्र उपचार गर्नुपर्ने अडान लिए, तर अस्पताल ब्यवस्थापन समितिले उनीहरुको कुरा सुनेन ।
जटिल खालको विरामी भएकोले आइसियूमा राखेर उपचार सुरु भयो । तर उनलाई अस्पतालले बचाउन सकेन । उनको २ असार बेलुकी ६ बजे मृत्यु भयो ।
अस्पतालको लापरवाहीले कोरोना संक्रमित विरामीको मृत्यु हुनुअघि थुप्रै स्वास्थ्यकर्मी र चिकित्सक सम्पर्कमा आए । उनलाई कोरोना संक्रमण भएको रिपोर्ट २ असार बेलुकी ८ बजे आएपछि उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अस्पताला कर्मचारी तनावमा छन् । आइसियुमा कोरोना संक्रमित महिला र अन्य विरामीलाई सँगसँगै राखिएको थियो । ‘संक्रमित महिलालाई उपचार र सेवा गरेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले अन्य विरामीको पनि उपचार गरेका थिए,’ शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ।
अस्पताल ब्यवस्थापनले लापरबाही गरेको भन्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारी आक्रोशित भएका छन् । ‘तेस्रो तहको अस्पताल भए पनि कोरोना संक्रमित विरामी र अन्य विरामीको उपचार सँगै गर्दा चिकित्सक मात्र नभई अन्य विरामी र उनीहरुका सहयोगी पनि कोरोनोको जोखिममा परेका छन्,’ एक नर्सले भनिन् ।
यसअघि पनि उपचारमा आएका एक विरामीको दश दिनपछिमात्र कोरोना पुष्टि भएको थियो । रुकुमबाट उपचारका लागि आएका ८२ बर्षिय बृद्धको १० दिनपछि कोरोना जाँच गर्दा उनमा पनि कोरोना संक्रमण देखिएको थियो ।
सरकारले शिक्षण अस्पताल कोहलपुरलाई तेस्रो तहको अस्पताल घोषणा गरि कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका विरामीको अप्रेशन र उपचारका लागि अधिकार दिएको छ । तर, अस्पताल ब्यवस्थापनले कार्यरत चिकित्सक, नर्स र अन्य कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि बेवास्ता गरेको गुनासो गरेका छन् । ‘पहिले नै पहिचान नहुँदा कोरोना संक्रमण भएका विरामीलाई प्रयोग भएका सामग्री र चिकित्सक तथा नर्सहरु अन्य विरामीको उपचारमा पनि खटिनु परेको छ,’ एक स्टाफ नर्सले भनिन्, ‘जानकारी नहुँदा कोरोना संक्रमित महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स, सहयोगी र कर्मचारीले अन्य विरामीलाई पनि छोए । उनीहरु आफ्नो घर गए । साथीभाईलाई भेटेका छन् । यसले स्वास्थ्यकर्मीलाई मात्र नभई घर परिवारलाई पनि जोखिम बढाएको छ ।’

Previous articleबाँकेमा कोरोना संक्रमित ब्यक्तिको शव ब्यवस्थापनमा समस्या
Next articleबाँके प्रहरी प्रमुख रानाको १७ बुँदे प्रतिवद्धता सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here