बाँके, २ असार ।
नेपालगन्जको मुटुमा रहेको त्रिभुवन चोकले नेपालगन्जको परिचय दिने भएकोले त्यस चोकमा साविकको जस्तै पूर्वराजा त्रिभुवनको शालिक राख्नुपर्ने आवाज एक थरिले उठाएका छन् । इतिहासमा स्थापना गरिएका पूर्वराजाको नामले अहिले पनि चिनिने भएकोले ति चोकमा साविकमा राखिएका पूर्वराजाकै शालिक राख्दा उत्तम हुने नागरिक समाज र राजनीतिक दलका नेताको सुझाव छ ।
जनआन्दोलनका बेला भत्काइएका चोकमा पहिलेकै स्वरुपमा पूर्वराजाका शालिक राख्दा एकातिर इतिहास नमेटिने र अर्कोतिर नगरको सौन्दर्यकरण हुने उनीहरुको तर्क छ । नेपालगन्जको केन्द्र विन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलवीच सहमति भएपछि नेपालगन्जको पहिचान जोगाउन पूर्व राजाको शालिक राख्ने या नराख्ने विषयमा बहस सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले त्रिभुवन चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राख्ने निर्णय गरे लगतै यहाँका अगुवाले त्रिभुवन चोकमा पूर्व राजा त्रिभुवनकै शालिक राख्न सुझाव दिएका छन् । नेपालगन्जका पुराना ब्यवसायी ललितकुमार रौनियारले जनआन्दोलन भाग–२ का बेला सात दलका नेता, कार्यकर्ताले भत्काई दिएको बताउँदै उक्त चोकमा पहिले राखिएका पूर्व राजाको शालिक राख्दा उत्तम हुने विचार राखेका छन् ।
शालिकलाई लिएर बादबिबाद चलिरहेको छ, तर निष्कर्ष निस्कन सकेको छैन । कसैले मधेशी शहिदको नाममा राजनीति गर्दैछन भने कसैले पूर्वराजाहरुको नाममा राजनीति गर्दैछन् ।
‘इतिहास भनेको इतिहास नै हो चाहे त्यो गलत होस चाहे सहि । त्रिभुवन चोक र बीरेन्द्र चोकले नेपालगन्जको इतिहासमा आफुलाई जोडिसकेको छ । त्यसकारण शालिक भएको ठाउँमा शालिक नै राखाँै,’ रौनियारले फेसबुकमार्फत आफ्नो धारणा राख्दै भनेका छन्, ‘बिभिन्न आस्थाको नाममा भएका आन्दोलनको क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट मारिएकाको सम्झनामा महेन्द्र पार्कलाई सहिद मेमोरियल पार्कको रुपमा बिकास गरौँ । यो नै बिबाद समाधानको उत्तम विकल्प हो । यसले नै सबैको भावनाको सम्मान हुन्छ ।’
त्यसैगरि, नेपाली काँग्रेसका नेता मेघराज ओलीले पनि चोकले नेपालगन्जको परिचय बनाएको बताउँदै त्रिभुवन चोक र वीरेन्द्र चोकमा साविककै शालिक राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । अरुको इतिहास नष्ट गरेर आफ्नो इतिहास बनाउन खोज्ने मूर्ख मनुवाको शहर नेपालगन्ज बन्न नहुने उनले बताए । इतिहास भाबी पुस्ताको अध्ययन र अवलोकन गर्ने थलो बन्नु पर्ने बताउँदै उनले सुरक्षित राख्नु पर्ने बताउँछन् । उनी भन्छन्, ‘इतिहास कालो या सेतो जस्तो सुकै भए पनि त्यो देशको निधि हो । सक्छौ इतिहास रच सक्दैनौं इतिहास ध्वस्त पार्ने मुर्खता नगर ।’
खजुराका अगुवा ऋषि पोख्रेलले नेपालगन्जको मुटुमा रहेको त्रिभुवन चोकलाई वि.सं. ०२८ सालदेखि सुन्दै र देख्दै आएकोले यसलाई समाप्त पार्न खोज्नु दुर्भाग्य भएको बताउँछन् । ‘इतिहास भाबी पुस्तालाई देखाउने हो पढाउने हो बुझाउने हो । नष्ट गरेर इतिहास मेटाउने होइन,’ उनी फेसबुकमा लेख्छन्, ‘नेपालगन्जको इतिहास जोगाउन समयमै ध्यान पुगोस ।’
यसैगरि, पत्रकार जयनारायण शाहले पनि नेपालगन्जका चोकमा रहेका पहिलेका शालिकलाई यथावत राख्नुपर्ने धारणा राखेका छन् । त्रिभुवन चोकमा पूर्वराजा त्रिभुवनकै र वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रकै शालिक राखिनुपर्ने उनले तर्क गरेका छन् । उनी भन्छन्, ‘यसवाट अध्येताले इतिहासवारे जानकारी पाउन सकुन् । इतिहास जोगाउन नसक्नु भावी पुस्तामाथिको घात हो ।’

Yes true we support