नेपालगन्जसँग जोडियो नरैनापुर

बाँके, ३२ जेष्ठ ।
लामो समयको पर्खाई पछि हुलाकी सडक अन्तरगत नेपालगन्ज–बघौडा सडक निर्माण पूरा भएको छ । नेपालगन्जको पुष्पलाल चोकदेखि सुइया बघौडासम्मको ४४ किलोमिटर सडकमा कालोपत्रेको काम सकिएको गणपति कन्स्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए ।
करिब तीन प्रतिशत काम गरेर निर्माण कम्पनी भागेका कारण सो सडकको निर्माण लामो समयदेखि अवरुद्ध बनेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले ०७२ सालमा सो सडकको निर्माण नेपालले आफ्नै लगानीमा गर्ने निर्णय गरेर बजेटसमेत विनियोजन गरेपछि काम अघि बढेको थियो ।
पप्पु लुम्बिनी जेभीले रु. ६६ करोड ६ लाख ३६ हजार ८९० पैसा ३६ को लागतमा डबल लेनको कालोपत्रे सडक निर्माण शुरु गरेको थियो । उक्त कम्पनीले पनि काममा ढिलासुस्ती गरेपछि पछिल्लो पटक गणपति कन्स्ट्रक्सनले कामको जिम्मेवारी पाएको थियो ।


करिव २३ बर्षअघि भारत सरकारले निर्माणको जिम्मा लिएर होल्ड गरेर राखेको सडक निर्माण पूरा भएपछि नरैनापुर गाउँपालिका सदरमुकाम नेपालगन्जसँग जोडिएको छ । पटक–पटकको अवरोध र अनिश्चितताका बीच बाँकेकै दुर्गम राप्तीपारि बघौडा क्षेत्रमा अवस्थित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगन्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए ।
राप्ती नदीको बगर र फत्तेपुरमा निर्माणाधीन पुलबाहेक नेपालगन्ज बसपार्कदेखि नरैनापुरको भारतसँग सीमाक्षेत्र कटकुइँयाको सुइयासम्म नै कालोपत्रे सम्पन्न भएको गणपति कन्स्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए । ‘कालोपत्रेको काम पूर्ण रुपमा सकिएको छ । पुल निर्माणको काम पनि धमाधम भइरहेको छ,’ भण्डारीले भने, ‘सडक मार्किङको काम पनि छिट्टै सकिन्छ ।’
लकडाउनका बेलासमेत सामाजिक दूरी कायम गरि मजदूरले काम गरेकाले निर्माणको काम समयमा सम्पन्न भएको भण्डारीको भनाई छ ।
नरैनापुर तथा राप्तीसोनारी गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक निर्माण भएसँगै त्यस क्षेत्रका करिब एक लाख बासिन्दालाई सजिलो भएको छ । सडक निर्माण नहुँदा नरैनापुरका बासिन्दालाई भारतीय बाटो भएर सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता थियो । वर्षौंँदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती अन्त्य भएको संविधानसभा सदस्य दिनेशचन्द्र यादवले बताए ।


भारतीय बाटो भएर नेपालगन्ज आउजाउ गर्दा अनेक खालका सास्ती खेपेको स्मरण गर्दै उनले आफ्नै जिल्लाका सदरमुकाम आउँदा अर्काको देश भएर आउनु परेको उनले सुनाए । ‘लामो पर्खाईपछि नेपालगन्ज–बघौडा सडक निर्माण पूरा भएको छ । सडकले नरैनापुरबासीलाई सदरमुकामसँग जोडेर नेपाली भएको अनुभूति गराएको छ,’ पूर्वमन्त्री समेत रहेका यादवले भने ।
सडक निर्माण भएका कारण कोरोना संक्रमितलाई उपचारका लागि नेपालगन्ज ल्याउन र स्वाब संकलन तथा अन्य प्रयोजनका लागि स्वास्थ्यकर्मी नरैनापुर लैजान सहज भएको गाउँपालिका प्रमुख शाहले बताए । सडक नभएको भए संक्रमितलाई भारतीय बाटो भएर नेपालगन्ज ल्याउनु पथ्र्यो । ‘सडक संजालमा जोडिएकै कारण संक्रमितलाई ल्याउन, लैजान प्रयोग भएका एम्बुलेन्स सहज रुपमा समयमै पुगे,’ उनले भने, ‘सडकले कोरोना नियन्त्रणमा ठूलो मद्दत पु¥याएको छ ।’
उनले कोरोना नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आउजाउ गर्न सडकले मद्दत गरेको बताए । ‘सडक नभएको भए भारतको बाटो भएर ल्याउनु पर्ने हुन्थ्यो,’ शाहले भने, ‘यसले एकातिर नेपालगन्ज पु¥याउन समय लाग्थ्यो, अर्कोतर्फ भारतले बाटोमा विभिन्न बहाना बनाएर सास्ती दिने थियो । यसबाट पनि हामी जोगिएका छौँ ।’

Previous article१७ जना संक्रमित घर फर्किए, दुई जना थपिए
Next articleमोटरसाइकल दुर्घटनामा एकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here