बाँके, ३२ जेष्ठ ।
नरैनापुर गाउँपालिका कोरोना मुक्त भएको छ । गाउँपालिकामा फेला परेका मध्ये सवै निको भएर घर फर्किएपछि नरैनापुर गाउँपालिका कोरोना मुक्त भएको हो ।
नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा एक सय १७ जना कोरोना संक्रमित फेला परेका थिए ।
कोरोनाका कारण एक युवकको मृत्यु भएपछि नरैनापुर देशमै चर्चा रहेको थियो । एक पछि अर्को कोरोना संक्रमित फेला परेपछि एक महिनादेखि कोरोनाले आक्रान्त भएको नरैनापुर अहिले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाएको छ ।
कामका लागि भारत गएर फर्केका नेपालीमा कोरोना संक्रमण देखिएको थियो । भारतबाट आउने नेपालीलाई नाकाबाट सिधै क्वारेन्टाइनमा राखिएको थियो । कोरोना पुष्टि भएपछि उनीहरुलाई नेपालगन्ज, कोहलपुर र दाङका विभिन्न आइसोलेसन अस्पताल तथा आइसोलेसन सेन्टरमा राखिएको थियो ।
उपचाररत सवै संक्रमित सबै निको भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । बाँकेका एक सय ९४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनले हाल ६ जना महिलासहित एक सय २६ जना विभिन्न आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको बताए ।