बाँके, २८ जेष्ठ ।
कोरोना भाइरस लागेका विरामीको उपचारका लागि सम्पूर्ण ब्यवस्था मिलाइएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले जनाएको छ । शिक्षण अस्पताल, कोहलपुर कोरोना संक्रमण भई जटिल खालका रोग लागेका विरामीको अप्रेशन सहित उपचार गर्ने अधिकार पाएको छ ।
सरकारले नेपालगन्ज शिक्षण अस्पताललाई तेस्रो श्रेणीको अस्पतालको रुपमा स्तरोन्नती गरि कोरोना लागेर जटिल खालका रोग लागेका विरामीको अप्रेशन सहित उपचार गर्ने जिम्मा दिएको छ । त्यहि जिम्मा अनुसार शिक्षण अस्पतालले अछामकी कोरोना संक्रमित महिलाको आन्द्राको अप्रेशन गरि उपचार गरिरहेको छ । ति महिला १८ हप्ताकी गर्भवती हुन् ।
अस्पतालका उप–निर्देशक दिनेश श्रेष्ठले जटिल खालका स्वास्थ्य समस्या भएका कोरोना संक्रमित विरामीको उपचार गर्ने जिम्मा पाएको बताए । उनले कोरोना संक्रमितको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताउँदै क्षति न्यूनिकरणका लागि सजग भएको बताए । ‘अन्य अस्पतालले भोगेका समस्याबाट पाठ सिकेर अस्पतालले नयाँ रणनीति बनाएको छ,’ उनले भने ।
उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीका लागि अस्पताल र अस्पतालको चिसापानीस्थित क्याम्पसमा क्वारेन्टाइन बनाइएको उनको भनाई छ । पहिलो पटक जटिल खालका कोरोना संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीले सात दिनसम्म अस्पतालको क्वारेन्टाइनमा बस्ने र उनीहरुले सात दिनसम्म सोही क्वारेन्टाइनमा बसेर थप आएका विरामीको उपचार गर्ने उनले बताए ।
‘उपचारमा संलग्न स्वास्थ्यकर्मीको सात दिनपछि पिसिआर जाँच गरिने छ । र, उनीहरुलाई थप १४ दिनका लागि चिसापानीस्थित क्याम्पसको क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाइएको छ,’ डा. श्रेष्ठले भने, ‘त्यतिन्जेल क्वारेन्टाइनमा जाने टोलीलाई पालो दिने अर्को चिकित्सकसहितको टोली तयार भइसक्छ ।’