अझैँ फेला परेनन् आइसोलेशनबाट भागेका संक्रमित

बाँके, २८ जेष्ठ ।
जानकी गाउँपालिका–१, जोगागाउँस्थित श्री माध्यमिक विद्यालय आइसोलेशनबाट भागेका संक्रमित अझैँ फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा राखेको चार दिन बित्न नपाउँदै उनी आइसोलेशनबाट रातको समयमा एकाएक गायव भएका हुन् ।
शौच गर्न जाने बहाना बनाएर उनी सोमवार राती प्रहरीको आँखा छलेर भागेको वडा अध्यक्ष मोहम्मद रजा राईले बताए । विहान ४ बजे आफ्नो टोलीका सदस्य गणना गर्ने क्रममा उनी फेला नपरेपछि प्रहरीलाई खवर गरिएको उनले बताए ।
उक्त आइसोलेशनमा ४१ जना संक्रमित राखिएका छन् । आइसोलेशनको दक्षिण तर्फ पर्खाल नभएकोले उनलाई भाग्न सजिलो भएको प्रहरीले जनाएको छ । पर्खाल नभएको भागमा प्लाष्टिकले बेरिएको छ । ‘प्रहरीको आँखा छलेर त्यहिँबाट संक्रमित भागेको हुनुपर्छ,’ वडा अध्यक्ष राईले भने ।
९ जेष्ठमा क्वारेन्टाइनमा राखिएका ति ब्यक्तिको कोरोना जाँच गर्दा २२ जेष्ठमा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति भागेको जानकारी पाउना साथ खोजीका लागि प्रहरी परिचालन गरिए पनि फेला नपरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए ।
उनले नेपाल प्रहरीका सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको बताए । ‘खोजीका लागि अन्य सुरक्षा निकायसँग पनि समन्वय भएको छ,’ उनले भने, ‘सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।’
आइसोलेशनबाट भागेका ब्यक्ति भारत गएको अनुमान लगाइएको छ । उनी एक महिना अघि भारतबाट आएका थिए । पहिले महेन्द्र बहुमुखी क्वारेन्टाइनमा बसेका उनी त्यहाँबाट पनि भागेको वडा अध्यक्ष राईले बताए ।

Previous articleकिन गरियो शिक्षण अस्पताल सील ? संक्रमित महिला कसरी आइन ? सील गरिएपछि कस्तो छ अवस्था ? (फिचर)
Next articleसंक्रमितको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरको तयारी यस्तो छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here