किन गरियो शिक्षण अस्पताल सील ? संक्रमित महिला कसरी आइन ? सील गरिएपछि कस्तो छ अवस्था ? (फिचर)

कोहलपुर (बाँके), २७ जेष्ठ ।
अछामबाट आएको सिम्रिक एयरको हेलिकप्टर २६ जेष्ठको दिउँसो करिव ११ः३० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको हेलिप्याडमा बस्यो । हेलिकप्टरमा अछामको बयलपाटा अस्पतालबाट रेफर गरिएका दुई विरामी थिए । बयलपाटा अस्पतालले उपचार गर्न नसकेपछि मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरलाई रेफर गरेका विरामी मध्ये २५ बर्षिया गर्भवती महिला र शरिरमा आगो लगाएर आत्मदाह प्रयास गरेका अर्का एक युवा थिए । मेडिकल कलेज आइपुग्दा दुवैको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो ।
हेलिकप्टरले विरामी ल्याएको जानकारी पाउनासाथ मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकको टोलीले हेलिकप्टरबाट विरामी लिएर आए । अर्को अस्पतालले रेफर गरेकोले चिकित्सक र स्वास्थ्यकर्मीले कोरोना तर्फ ध्यान नदिएर उनीहरुको ज्यान बचाउने ध्याउन्नमा लागे । तै पनि एक पटक कोरोना जाँच गराउँदा उपचारमा सहज हुने भन्दै स्वाब संकलन गरेर भेरी अस्पतालमा पठाएको मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका उप–निर्देशक डा. दिनेश श्रेष्ठले बताए ।
भेरी अस्पतालले गर्भवती महिलाको कोरोना रिपोर्टको जानकारी राती १०ः१५ बजे मेडिकल कलेज कोहलपुरलाई दियो । ‘महिलाको कोरोना रिपोर्ट पोजेटिभ भएको जानकारी पाउनासाथ अस्पताल प्रशासनले २६ जेष्ठको राती ११ बजे सिल ग¥यो । कोरोना रिपोर्टको कागजात आउन बाँकी नै थियो, रिपोर्ट पोजेटिभ आएको फोनबाट जानकारी पाउना साथ अस्पताल सिल ग¥यौँ,’ डा. श्रेष्ठले भने ।
अस्पताल परिसर सुनसान
सधैँजसो भीडभाड हुने शिक्षण अस्पताल परिसर सोमवार रातीबाट सुनसान छ । टिकट काउन्टर, फार्मेसी बन्द छन् । अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक बाहेक अस्पताल परिसरमा कोही पनि देखिदैनन् । फाटफुट रुपमा विरामीका आफन्त देखिए पनि शिक्षण अस्पताल सुनसान छ ।
सील गरिएपछि विरामी र उनीहरुका कुरुवालाई बाहिर निस्कन दिइएको छैन । भने, नयाँ विरामी भर्ना गरिएको छैन । अस्पतालले इमरजेन्सी सेवा समेत बन्द गरिएको डा. श्रेष्ठले बताए ।
उनले २६ जेष्ठमा मात्र एक सय ६९ जना विरामी भर्ना भएको जानकारी दिए । ‘भर्ना भइसकेको उपचार जारी छ, तर नयाँ विरामी भर्ना पूर्णरुपमा बन्द गरिएको छ,’ उनले भने, ‘भर्ना भएका विरामीको उपचार र ब्यवस्थापन गर्न समस्या भएको छ ।’
सर्वसाधारणलाई अस्पताल परिसरमा जान नदिइएको उनले बताए । ‘सील भएको अस्पतालमा सर्वसाधारणलाई आउजाउ गर्न मिल्दैन, उपचारका लागि आउने विरामीलाई मुख्य प्रवेशद्वारबाट भित्र छिर्न दिइएको छैन,’ डा. श्रेष्ठले बताए ।


महिलासँगै आएका युवकको मृत्यु
महिलासँगै हेलिकप्टरबाट आएका विरामीको २६ गते नै मृत्यु भएको छ । बयलपाटा अस्पतालले सेवाबाट हटाए पछि उनले आत्मदाहको प्रयास गरि आफ्नो शरिरमा आफैले आगो लगाएको अस्पतालले जनाएको छ ।
उनको शरिर ७०–७५ प्रतिशत जलेको थियो । सिकिस्त अवस्थाका ती युवकलाई बचाउने प्रयास गरिए पनि शरिर धेरै जलेकोले बचाउन नसकिएको डा. श्रेष्ठको भनाई छ । ‘धेरै जलेकोले बचाउन सक्ने सम्भावना एकदमै कम थियो, तै पनि प्रयास ग¥यौँ, तर बचाउन सकिएन,’ उनले भने ।
संक्रमित महिला १८ हप्ताकोगर्भवती, आजै पेटको अप्रेशन
कोरोना संक्रमित महिला १८ हप्ताकी गर्भवती हुन् । उनको पेटको आन्द्रा बटारिएको (लाप्राटोमी) छ । आन्द्राको अप्रेशन आजै हुने शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।
चिकित्सकका अनुसार उनको गर्भमा रहेको बच्चाको अवस्था राम्रो छ । यसका लागि स्त्रीरोग नवजात शिशु रोग विशेषज्ञ चिकित्सकलाई सँगै राखेर अप्रेशन गर्ने तयारी अस्पतालले गरेको छ । ‘हामीले आमा र बच्चा दुवैको ज्यान जोगाउने हरसम्भवको प्रयास गरेका छौँ,’ डा. श्रेष्ठले भने, ‘विशेषज्ञ चिकित्सकको टोली अप्रेशनमा सहभागी हुने छन् ।’
शिक्षण अस्पतालका ११ जना क्वारेन्टाइनमा
गर्भवती महिलाको उपचार र हेरचाहमा खटिएका शिक्षण अस्पताल कोहलपुरका ११ जना चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । बयलपाटा अस्पतालले समयमा जानकारी नदिँदा समस्या भएको अस्पतालका उप–निर्देशक डा. श्रेष्ठले बताए ।
उनले कोरोना पोजेटिभ भएको जानकारी नपाएकोले सुरक्षा सतर्कता नअपनाउन नसकेको भए । ‘बयलपाटा अस्पतालले पहिले नै जानकारी दिएको भए सावधानी अपनाइन्थ्यो । अस्पतालका अन्य विरामीको ब्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने ।
महिलाको ट्राभल हिस्ट्री के छ ?
शिक्षण अस्पताल कोहलपुरमा ल्याइएकी महिला भारतको राजस्थानबाट आएकी हुन् । उनी अछामको क्वारेन्टाइनमा बसेको बेला पेट दुखेपछि उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको थियो ।
बयलपाटा अस्पतालले पेटको अप्रेशन गर्नुपर्ने भन्दै शिक्षण अस्पताल कोहलपुर रेफर गरेको थियो । उनलाई कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरमा राखेर कोहलपुर ल्याइएको छ ।

Previous articleमहेन्द्रमा रहेका २६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ
Next articleअझैँ फेला परेनन् आइसोलेशनबाट भागेका संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here