बाँके, २६ जेष्ठ ।
खजुरास्थित कृषि तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेसनबाट सोमवार नरैनापुर गाउँपालिकाका २० जना निको भएर घर फर्किएका छन् । कोरोनालाई जितेर घर फर्किनेमा नरैनापुर गाउँपालिका– १ का एक जना, वडा नं. ४ का तीन र वडा नं. ३ का १६ गरि २० जना रहेको जिल्ल स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६८ पुगेको छ । दुई सय ७० जना कोरोनाबाट संक्रमित छन् भने एकजनाको मृत्यु भएको छ ।
यसैवीच, पोजेटिभ रिपोर्ट आए पनि विशेष कोरोना अस्पताल, बेलझुण्डीले डिस्चार्ज गरेका नरैनापुरका तीन जनालाई लायन्स डेन्टल अस्पतालको आइसोलेशनमा ल्याइएको छ । पोजेटिभ हुँदाहुँदै पनि कोरोना अस्पतालले डिस्चार्ज गरेर घर पठाएपछि स्थानीयले विरोध गरेका थिए ।
लायन्स डेन्टलको आइसोलेशनमा नरैनापुरका थप ११ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् । आइसोलेशन अस्पताल बेलझुण्डीले नयाँ निर्देशिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनीहरुलाई डिस्चार्ज गरेको थियो ।