जनता समाजवादी पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव चयन

अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता

काठमाडौं, २५ जेष्ठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा आइतवार निवेदन दर्ता गराएको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जसपाको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई चयन गरिएको छ । दुई अध्यक्षको नेतृत्वमा जसपाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एक आपसमा एकिकरण हुने सम्झौता गरे अनुसार आयोगमा दल दर्ताको निवेदन दिएको नेता केशव झाले जानकारी दिए ।
पार्टीले केन्द्रीय कार्यसमिति अध्यक्षद्वय ठाकुरलाई पहिलो र यादवलाई दोस्रो वरियतामा रहने ब्यवस्था गरेको छ । यस्तैगरि, वरिष्ठ नेतामा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौ वरियतामा छन् ।
गत १० बैशाखको मध्यरातमा एकिकरणको सहमति गरेका राजपा–सपाले त्यसलगत्तै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएका थिए । तर पदीय भागबण्डा मिल्न नसक्दा निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनको अवधि पुरा भएपछिमात्र जसपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन लिएर पुगेको हो ।
राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार एकिकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर आयोगमा निवेदन दिनुपर्छ । २४ जेष्ठमा नै ४५ दिन पुगे पनि शनिवार परेकाले जसपाले आइतवार निवेदन दिएको हो । आयोगका सहसचिव लक्ष्मी गौतमका अनुसार निवेदन दर्ता भएपछि आयोगले अब ४५ दिनभित्र कागजपत्र जाँचबुझ गरेर दलको मान्यता दिने नदिने निर्णय गर्नेछ ।
राजपा र समाजवादीवीच एकीकरणको सहमति भएको डेढ महिनापछि दुई दलका नेतावीच आइतवार बालकुमारीस्थित पार्टी कार्यालयमा पदीय भागबण्डाको टुंगो लागेको हो । जसपाको केन्द्रीय समितिमा हाललाई ५१ जना रहेका छन् । राजपाबाट २६ र सपाबाट २५ जना केन्द्रीय समितिमा पाएका छन् ।

Previous articleकोरोना रिपोर्ट पोजेटिभ भएका तीन जना डिस्चार्ज
Next articleवडा अध्यक्षको क्वारेन्टाइनमै बास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here