‘संक्रमणभन्दा संक्रमित शब्दले पीडा दिन्छ’

बाँके, २४ जेष्ठ ।
कोरोनाको संक्रमणले भन्दा आफूमाथि भिराइएको संक्रमितको बिल्लाले बढि पीडा दिने गरेको संक्रमितले गुनासो गरेका छन् । आफूहरु स्वस्थ र निरोगी भए पनि कोरोना जाँचका क्रममा पोजेटिभ देखिइएकोमा पीडित भएको डुडुवा गाउँपालिका–४, स्थित आधारभूत विद्यालय, शाहपुर्वाको आइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका संक्रमितले गुनासो गरे ।
‘हामी निरोगी छौँ । हामीलाई अहिलेसम्म एक ट्याब्लेट औषधी खान परेको छैन । तै पनि हामीलाई कोरोनाको बिल्ला भिराएर आइसोलेशनमा राखिएको छ,’ एक संक्रमितले भने, ‘स्वस्थ भए पनि हामीलाई आइसोलेशनमा राखेर थप पीडित बनाइएको छ ।’
सोही आइसोलेशन केन्द्रमा बसेर स्वास्थ्य लाभ गरिरहेका डुडुवाकै अर्का संक्रमितको गुनासो पनि उस्तै छ । उनले स्वस्थ भइकै कारण हरेक दिन विहान ४ बजे उठेर दुई घण्टा ब्यायाम गर्ने गरेको बताउँदै स्वस्थ र निरोगी ब्यक्तिलाई कोरोना संक्रमितको ट्याग लगाएर पीडा दिएको बताए । ‘अघिल्ला दिन जस्तै शरिरमा केहि भएको जस्तो लाग्दैन,’ उनले भने, ‘खाना पनि अघि जस्तै खान्छु, कोरोना संक्रमितको बिल्ला भिराइए पछि पो रोगी जस्तो लाग्न थाल्यो ।’
शाहपुर्वास्थित आइसोलेशनमा १५ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् । भारतको मुम्बईबाट आएका उनीहरुले नेपालमा आएपछि कोरोना संक्रमण भएको दावी गर्छन् । मुम्बईमा सुरक्षित साथ घरमै बसेको बताउँदै एक संक्रमितले भने, ‘हामीलाई कित त नेपाल आउने बेला चढेको ट्रकमा कोरोना सरेको हुनु पर्छ कि त नेपालको क्वारेन्टाइनमा बसेको बेला साथीबाट सरेको हुनु पर्छ ।’
उनले भारतबाट नेपाल प्रवेश गर्ने बेला धेरैजना साथीसँग बाटोमा भेट भएको बताए । नेपाल आएपछि पनि कहिले एउटा कहिले अर्को क्वारेन्टाइनमा सारेको बताए । एउटा ठाउँबाट अर्को ठाउँ, एउटा क्वारेन्टाइनबाट अर्को क्वारेन्टाइनमा सर्ने बेला पानी फेरबदल भएर शरिरको तापक्रम बढेको हुनसक्ने उनले अनुमान लगाए ।
आइसोलेशनमा रहेका संक्रमितले छिटो कोरोना जाँच गरेर घर पठाउन माग गरेका छन् । ‘शरिरमा कोरोनाको संक्रमण रहने निश्चित समय हुने भएकोले हामी मध्येबाट धेरैको कोरोना निको भइसकेको हुनुपर्छ । ‘कोरोना जाँच गर्न ढिलाई गर्दा हामीलाई थप दुख दिने काम भइरहेको छ,’ एक अर्को संक्रमितले भने, ‘छिटो कोरोना जाँच गरेर घर जाने बातावरण बनाइयोस् ।’
कोरोना जितेर घर फर्किएका पत्रकारको अनुभव पनि उस्तै
कोरोनालाई जितेर शनिवारमात्र अस्पतालबाट डिस्चार्ज भएका बाँकेका पत्रकारले पनि कोरोनाको संक्रमणभन्दा संक्रमित शब्दले आफूलाई दिनदिनै घोचेको बताए । उनले संक्रमित भएपछि समाजले हेर्ने नजर फेरिने भएकोले आफूलाई उक्त शब्दले पीडा दिएको बताए ।
संक्रमितलाई रोगी सरह गरिने ब्यवहार र हेरिने नजरले पीडामाथि पीडा थपिने गरेको उनको भनाई छ । ‘संक्रमण भए पनि म स्वस्थ छु, तै पनि संक्रमित भन्दै गरिने ब्यवहारले थप पीडा दिँदो रहेछ,’ अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले भने ।
आइसोलेशन अस्पतालबाट ‘म स्वस्थ छु, संक्रमित भनेर मलाई थप पीडा नदिनुस्’ भन्दै आफ्नो फेसबुक वालमार्फत उनले इष्टमित्र र शुभचिन्तकसँग आग्रह गर्थे । उनले इष्टमित्र र शुभचिन्तकले फोन गरेर स्वास्थ्य लाभ गर्दा चिन्ता झनै थपिने गरेको अनुभव सुनाए । ‘स्वस्थ हुँदाहुँदै पनि फेसबुक र फोनमार्फत सीघ्र स्वास्थ्य लाभको कामना गर्दा नमजा लाग्थ्यो,’ ओलीले भने ।

Previous articleथप दुईको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो
Next articleबाई–बाई नेपालगन्ज, मरे त यत्तिकै बाँचे भेट होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here