बाँके, २४ जेष्ठ ।
एक बर्षदेखि भेरी अस्पतालको प्रसुती गृह पछाडी डम्पिङ गरिएको फोहर नेपालगन्ज उपमहानगरपालिकाले उठाउन सुरु गरेको छ । अस्पतालमा उत्पादन भएका फोहर तथा फोहरजन्य बस्तु विसर्जन गर्ने ठाउँ नपाउँदा एक बर्षदेखि अस्पताल परिसरमा डम्पिङ गरिएको थियो ।
भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष प्रमोदकुमार धितालको सक्रियतामा नेपालगन्ज उपमहानगरपालिकाले फोहर ब्यवस्थापन गर्न थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । उनले विसर्जन गर्ने ठाउँ नपाउँदा एक बर्षदेखि अस्पताल परिसरमा डम्पिङ गरिएको बताए । अस्पताल परिसरमा डम्पिङ गर्दा दुर्गन्ध फैलिने खतरा बढेपछि अध्यक्ष धितालले फोहर ब्यवस्थापनमा सक्रियता देखाएका हुन् । ‘अध्यक्ष ज्यूले मेयर सावसँग कुरा राखेपछि नेपालगन्ज उपमहानगरपालिकाले फोहर उठाएर लैजान थालेको छ,’ उनले भने ।
फोहर नउठेको भए बर्षातको समयमा दुर्गन्ध फैलिन गई स्वास्थ्यमा असर पर्न सक्ने खतरालाई मध्यनजर गरि फोहर ब्यवस्थापनलाई अध्यक्ष ज्यूले पहिलो प्राथमिकतामा राखेको डा. थापाले बताए । ‘बर्षात सुरु हुनु अगावै फोहर ब्यवस्थापन गर्न नसके ठूलो समस्या निम्तिने खतराका बारेमा हामीले नव नियुक्त अध्यक्ष ज्यूलाई जानकारी गरायौँ । उहाँ अध्यक्ष (प्रमोद धिताल) ले पदभार ग्रहण गरेको एक हप्ताभित्रै फोहर ब्यवस्थापन गर्ने बातावरण मिलाउनु भयो,’ डा. थापाले भने ।

अस्पतालमा उत्पादन हुने फोहर ब्यवस्थापन चुनौतीको रुपमा देखिने गरेको प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले बताइन् । पहिलेदेखि नै समस्या झेल्दै आएको बताउँदै उहाँ (अध्यक्ष) को आग्रहमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले फोहर ब्यवस्थापनमा चासो देखाएको उनको भनाई छ । ‘अस्पताल विकास समितिका अध्यक्षले चासो देखाउनु भयो । मेयर सावले उहाँको चासोमा साथ दिनुभयो,’ प्रमुख नर्सिङ प्रशासक श्रेष्ठले भनिन्, ‘दुवैको चासो र साथले एक बर्षदेखि उठ्न नसकेको फोहर उठाउन सम्भव भयो ।’
मेयर डा. राणा भेरी अस्पताल विकास समितिका पदेन सदस्य पनि हुन् । उनले भेरी अस्पताललाई सफासुघर बनाउन फोहर ब्यवस्थापनमा सहयोग गर्ने बताए । ‘भेरी अस्पतालमा उत्पादन भएको फोहर ब्यवस्थापन गर्ने दायित्व मेरो पनि हो । अस्पताल विकास समितिको अभियानमा मेरो पूर्ण साथ र सहयोग रहने छ,’ डा. राणाले भने ।

भेरी अस्पताल परिसरमा डम्पिङ गरेको फोहर झण्डै १० ट्रक रहेको उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख अशोक केसीले बताए । उनले फोहर ब्यवस्थापन गर्न एक हप्ता लाग्ने स्पष्ट पारे ।





