बाँके, २३ जेष्ठ ।
दुई दिन बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय आफ्नो निर्णयबाट पछाडी हटेको छ । सर्वसाधारणको मागलाई मध्यनजर गरि बार अनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय फिर्ता लिँदै अघिल्लो निर्णय बमोजिम अति आवश्यक बस्तुका पसल मात्र खोल्न दिने निर्णय गरेको छ ।
सर्वदलिय, सर्वपक्षित बैठकले दिएको सुझावका आधारमा बाँके प्रशासनले विहीवारदेखि बार अनुसार फरक–फरक ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको थियो । ‘बार अनुसार ब्यवसाय संचालन गर्न दिँदा बजारमा मानिसको भीडभाड बढेको, सामाजिक दूरी कायम नगरि किनमेल गरेको देखिएपछि कोरोना संक्रमण फैलिन सक्ने देखिएकोले २१ जेष्ठका दिन बार अनुसार पसल खोल्न दिने निर्णय रद्द गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पसल खोल्दा कोरोना संक्रमण फैलिन खतरा देखिएकोले २१ जेष्ठ अघिकै कार्यतालिक अनुसार विहान ११ देखि दिउँसो ३ बजेसम्म अतिआवश्यक बस्तुका पसल मात्र खोल्ने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।