भारतबाट फर्किने नेपालीलाई नाकामा तयारी खानाको ब्यवस्था

बाँके, २२ जेष्ठ ।
कामका लागि भारत गएर कोरोनाका कारण अलपत्र परेर भारतबाट स्वदेश फर्किने नेपालीलाई नाकामै तयारी खाना खुवाउन थालिएको छ । लामो यात्रा गरेर भोक र पियासले गलेका नेपालीलाई केहि राहत मिलोस भन्ने उद्देश्यले जमुनाह नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरिएको बाँके युनेस्को क्लवका संरक्षक प्रवेजअलि सिद्धिकीले बताए ।
भारतबाट स्वदेश फर्किने ३० हजार जनालाई खाना, पानी र मास्क वितरण गर्ने लक्ष्य रहेको बताउँदै उनले भारतबाट फर्किनेहरु भोक, पियासै आउने गरेकोले मानविय सेवाका लागि अभियान शुरु गरेको बताए । कोरोनाको जोखिम क्षेत्रबाट आएकाले मास्क समेत नपाएको भन्ने गुनासो आएपछि फर्किन सवैलाई मास्क वितरण गर्ने योजना बनायौँ,’ उनले भने ।
प्रदेशसभाका सभासद कृष्ण केसी (नमुना), बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली र सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी लगायतले नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखामा भारतबाट आएका नेपालीलाई तयारी खाना खुवाएर कार्यक्रम शुरुवात गरे ।


कार्यक्रममा प्रदेशसभा सदस्य केसीले भारतबाट आउने नेपालीलाई तयारी खाना, पानी र मास्क दिएर बाँके युनेस्को क्लवले मानवीय सेवा गरेको बताइन् । उनले नेपाल फर्किनेहरुको राम्रो व्यवस्थापनबाटै कोरानोलाई पराजित गर्न सकिने धारणा राखिन् ।
नेपाली सेनाका कर्णेल थापाले भारतबाट आउनेहरुका लागि जमुनाह नाकामा गरिएको व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्लान इन्टरनेसनल नेपाल, नेपालगन्ज एरिया अफिसका म्यानेजर मिना पराजुलीले भारतबाट फर्किनेहरुको दुख र पीडालाई मनन् गरेर केही हदसम्म भएपनि राहत मिलोस भन्ने उद्देश्यले तयारी खाना, पानी र मास्क वितरण शुरु गरिएको बताइन् ।
नेपालगन्ज नाकाबाट अहिले दैनिक सरदर एक हजार पाँचसय नेपाली आउने गरेका छन् । भारतबाट आउनेलाई रुपइडिहाबाट गाडीमा हालेर सिधै सम्बन्धित जिल्ला र स्थानीय तहमा पु¥याउने गरिएको छ । बाँकेका नागरिकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा र अन्य जिल्लाका सर्वसाधारणलाई सम्बन्धित जिल्लामा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।
विहीबार बेलुकीसम्म ६ सय बढिलाई तयारी खाना, पानी र मास्क वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए । उनले खाना खुवाउने काम अबेर रातीसम्म जारी रहेने बताए ।

Previous articleएसियाबाटै खड्का एक्लो निर्णायक
Next articleआज अटो मोबाइल्स, कोल्ड स्टोर, मोटरसाइकल र साइकलका पसल खुल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here