बाँके, २२ जेष्ठ ।
कोरोनाको संक्रमण नदेखिएको जानकी गाउँपालिकामा एकैदिन ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा जानकी गाउँपालिकामा ४० र नेपालगन्ज उपमहानगरपालिकामा दुई गरि बाँकेका ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।
भारतबाट आएर क्वारेन्टाइनमा रहेकाहरुको आरटी पिसिआर विधिबाट कोरोना जाँच गर्दा जानकी गाउँपालिकाका ४० र नेपालगन्जका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
सवै संक्रमित जानकी गाउँपालिका वडा नं. १ को साईगाउँ, बढैया, शिवपुरी क्वारेन्टाइनमा बसेकाहरु भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । एक सय १३ जनाको स्वाब संकलन गरि जाँच गर्दा ४० जनामा कोरोना देखिएको उनले बताए ।
जिल्लाको नरैनापुरमा सवैभन्दा धेरै एक सय १८ जनामा कोरोना देखिएको छ । त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिकामा ३३, राप्ती सोनारीमा २६, डुडुवामा २५, बैैजनाथमा आठ र खजुरामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा फेला परेका संक्रमित सहित बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । अहिलेसम्म कोहलपुर नगरपालिका मात्र अछुतो रहेको छ । त्यहाँ अहिलेसम्म पिसिआर प्रविधिबाट एक सय १५ जनाको कोरोना जाँच भए पनि सवैको रिपोर्ट नेगेटिभ आएको छ ।