विश्वराज पछल्डङ्ग्या
बाँके, २० जेष्ठ ।

नेपालगन्ज नेपालको पूरानो सहर मध्ये एक हो । नेपालको नामबाट राखिएको नेपालगन्जको परिकल्पना श्री ३ जंगबहादुरले गरेका थिए । नयाँ मुलुककको रुपमा चिनिने नेपालगन्जमा सिमान्तकृत, अल्पसंख्यक समुदायको समेत बसोबास छ । नेपालगन्ज धार्मिक तथा सामाजिक विविधता भएको सहर पनि हो । नेपालगन्जको विविधता मध्ये खानाको परिकार पनि एक मानिन्छ ।
नेपालगन्जमा पाइने परिकारले यो सहरको परिचय दिन्छन्् । पुस्तौंदेखि प्रचलनमा रहेका खानाका परिकारले यहाँका रहनसहन, चालचलन, भाषा, संस्कृतिको परिचय दिन्छन् । अन्य सहरमा पाइने खानाका परिकार भन्दा छुट्टै स्वाद दिने परिकारले नेपालगन्जलाई चिनाउन मद्दत गरेका छन् । यहाँ निम्न बर्गदेखि उच्च घरानियाले खाने परिकार पाइन्छ ।
भारतीय परिकारको प्रभाव नेपालगन्जमा पाइने खानाका परिकारमा पनि परेको पाइन्छ । भारत उत्तर प्रदेशको राजधानी लखनऊमा पाइने विरयानीले नेपालगन्जमा पनि ख्याती कमाएको छ । नेपालगन्जका रैथानेको उठबस, विहावारी भारतबाट हुने भएकोले पनि भारतीय परिकारको प्रभाव नेपालगन्जमा पनि परेको हुन सक्छ ।
विरयानी


विरयानी नेपालगन्जको नाम चलेको परिकार मध्ये एक हो । बाहिरबाट आउने प्रायजसोले विरयानीको स्वाद लिन एकलैनी बजार पुग्छन् । इस्लाम धर्मावलम्बीको मुख्य परिकारको रुपमा मानिने विरयानीको स्वादले गैर इस्लाम धर्मावलम्वी पनि मोहित हुने गरेको पाइन्छ ।
बिरयानी चामल र मासु मिसाएर पकाइन्छ । नेपालगन्जमा मुवारक बिरयानी चर्चित छ । एकलैनीको मुवारक विरयानीले चर्चा कमाएपछि अहिले नेपालगन्जमा विभिन्न स्थानमा विरयानीको खाजा पसल खुलेका छन् । बिरयानी धेरै ठाउँमा पाइने भएपनि पकाउने व्यक्तिको कलाकौशलको आधारमा स्वाद फरक हुने गरेको छ ।
सेकुवा
नेपालगन्जको परिकार मध्ये सेकुवा पनि प्रमुख मानिन्छ । नेपालगन्जको धम्बोझी चोक र बीपी चोकका होटलमा सेकुवा खान पाइन्छ । तर नेपालगन्जको भेरी अस्पताल, पुष्पलाल चोक, क्यूएफएक्स बागेश्वरी सिनेमा हल रोडमा पनि सेकुवाका पसल लस्करै देख्न पाइन्छ । पहिले खसीको मात्र सेकुवा पाइने नेपालगन्जमा अहिले बंगुर र लोकल कुखुराको सेकुवा पनि विक्री हुन थालेको छ । बेलुकीपख नेपालगन्जको वीपी चोक, धम्बोझी चोक, बागेश्वरी सिनमा हल, भेरी अस्पताल चोकमा सेकुवा खानेको ठूलो भीड लाग्ने गर्दछ ।
रावडी


रावडी दुधबाट बनेको बिशेष परिकार हो रावडी । तिन पुस्तादेखि नेपालगन्जको त्रिभुवन चोकका मिठाई पसलमा रावडीको परिकार विक्री हुँदै आएको छ । गन्यमान्यलाई खुसी बनाउन, ठूलाबडाको आशिर्वाद लिन वा कुनै अल्झेको काम सफल बनाउन नेपालगन्जीयाले राबडीको कोशेली दिने चलन छ । नेपालगन्जको राबडी काठमाडौँ लगायत देशका ठूला सहर र चारतारे होटलका भान्सामा समेत पुग्छ ।
नेपालगन्जलाई चाट र राबडीको सहरका रुपमा पनि लिइन्छ । नेपालगन्ज आउने जो कोही राबडीको स्वाद लिएर मात्र फर्किन्छन् । एक पटक स्वाद चाखेपछि अर्को पल्ट नखाएर सुख पाइदैन । त्यसैले नेपालगन्ज आउने अधिकांश पाहुना राबडी खान त्रिभुवन चोक पुग्छन् ।
मिठो स्वाद र स्वास्थ्यका लागि फाइदाजनक भएकोले दोस्रो पटक आउँदा होवस् वा कोही नेपालगन्ज आउँदा त्रिभुवन चोकको राबडी खान सिफारिस गर्छन् र लिएर आउन आग्रह गर्दछन् । नेपालगन्जका आशिष गुप्ता भन्छन्, ‘पहिलो पटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक अवश्य जान्छ र फेरि नेपालगन्ज आउँदा राबडीको स्वाद लिन पटक–पटक जान्छन् ।’
दुधलाई दुई घण्टासम्म उमालेर राबडी तयारी गरिन्छ । दुधलाई ठोस बनाउन कराईमा दुई–तीन घण्टा उम्माल्नु पर्छ । १० लिटर दुधको कम्तीमा तीन किलो राबडी तयार हुन्छ । दुधको गुणस्तरियता हेरेर राबडी तयार हुने गरेको नेपालगन्जको त्रिभुवन चोकस्थित शिव मिष्ठान भण्डारका प्रोप्राइटर ऋषि गुप्ताले बताए ।
राबडी प्रतिष्ठित ब्यक्तिलाई कोशेली दिने चलन पनि बढेको छ । काठमाडौँका प्रतिष्ठित ब्यक्तिलाई भेट्न जाँदा नेपालगन्जीयाले कोशेलीको रुपमा राबडी लिएर जाने गर्छन् । राबडी लिएर जाँदा काठमाडौँका प्रतिष्ठित ब्यक्तिहरु खुसी हुने भएकोले अधिकांशले कोशेलीको रुपमा यहि लैजाने गरेका छन् ।
काठमाडौँका इष्टमित्र र गन्यमान्य ब्यक्तिले पनि कोशेलीको रुपमा राबडी नै रोज्ने गरेको नेपालगन्ज सल्यानी बंगलाका मेराज सल्मानीले बताए । उनी भन्छन्, ‘काठमाडौँमा बस्नेले राबडी नै मन पराउँछन् । यसको स्वाद मिठो हुन्छ, कोशेली लैजानेलाई महंगो पनि पर्दैन । र, त सवैको रोजाईमा पर्न सफल भएको छ ।’
चाट


चाट पनि नेपालगन्जका प्रख्यात परिकार मध्ये पर्दछ । चाट खानेमा धेरैजसो महिला हुन्छन् । तै पनि बाहिरबाट आएकाले समेत नेपालगन्जको चाटको स्वाद लिन पछाडी पर्दैनन्् । नेपालगन्जमा धेरै थरिका चाटको स्वाद लिन सकिन्छ ।
उमालेको आलुबाट चाट बनाइन्छ । उमालेको आलुको बोक्रा फालेर अदुवा, हरियो खुर्सानी, सूजी, सुकेको खुर्सानीको धुलो, जीराको पाउडर, चाट मसाला पाउडर, हरियो धनिया, अमचूर पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ । बोक्रा फालेको थोरै आलुलाई हातमा लिएर चेप्टो बनाएर टिकिया बनाइन्छ । चाट बनाउन प्रयोग हुने तावामा एक चम्चा तेल हालेर तातो बनाउनु पर्छ । टिकियाको दुवैतर्फ खैरो बनाउनु पर्छ । त्यसपछि ग्राहकको माग अनुसार आलुको टिकिया तावामा राखेर फाटेको दही, खजुर, इमलीको चटनी, रातो खुर्सानीको धुलो र नुन हालेर चाट तयार गरिन्छ । ग्राहकको माग अनुसार, चाट खट्टो र मिठो बनाइन्छ ।
पानीपुरी


नेपालगन्जको परिकार मध्ये अधिकांशको रोजाईमा पानी पुरी पनि एक प्रमुख परिकार हो । गहुँका साना–साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर पानी पुरी बनाइन्छ । पुरीमा चना वा केराउ हालेर मिठो बनाइन्छ ।
एउटा ब्यक्तिले कम्तीमा १० वटा पानीपुरी खाने गर्दछन् । खट्टो, पिरो मन पराउनेका लागि पानीपुरी अति उत्तम परिकार मानिन्छ । नेपालगन्जको त्रिभुवन चोक आसपासमा पानीपुरीको ब्यापार हुने गरेको छ ।
हलुवा–पराठा


नेपालगन्ज आउँदा खान छुटाउन नहुने परिकार हो हलुवा पराठा । हलुवा पराठा नेपालगन्जलाई चिनाउने परिकार हो । नेपालगन्जमा आउनेहरुले हलुवा पराठको स्वाद लिन नेपालगन्जको चौलिक्का चोक जाने गरेका छन् । बिगत ३३ बर्षदेखि हलुवा, पराठा बिक्रि गर्दै आएका जलिल अहमदले दैनिक १२–१५ किलो हलुवा र पराठा विक्री गर्दै आएको बताए ।
बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा आवत जावत गर्ने बटुवा हुन् उनको हलुवा पराठा नचाखेका कमै होलान । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न नपरेको बताए । ‘बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै छन,’ उनले भने ।
हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केहि वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । शहरको अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ । ब्यापारीले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन् ।
चना, पुरी


नेपालगन्जमा अधिक विक्री हुने परिकार मध्ये चना, पुरी पनि एक हो । यो परिकार सवैभन्दा धेरै विहानको समयमा विक्री हुन्छ । त्रिभुवन चोकमा पुगेपछि चना, पुरी खानुको मजा नै बेग्लै हुन्छ । ठेलामा राखेर ब्यापार भए पनि चना, पुरीको ब्यापारबाट मनग्य आम्दानी हुने गरेको ब्यापारी बताउँछन् ।
लसी


नेपालको सवैभन्दा गर्मी हुने सहरमा पर्दछ नेपालगन्ज । त्यसैले गर्मीयाममा यहाँ लसीको राम्रो ब्यापार हुन्छ । खासगरि दहीबाट लसी बनाइन्छ । तर, उखुको जुसबाट पनि लसी बनाउने गरिएको छ । नेपालगन्जका विभिन्न स्थानमा लसीको ब्यापार भए पनि त्रिभुवन चोकको लसी बिशेष मानिन्छ । काम र घुमफिरका लागि नेपालगन्ज आउनेहरु लसीको स्वाद लिएरमात्र फर्किने गर्दछन् ।
लसीलाई मिठो बनाउन दहीमा नरिवल लगायतका विभिन्न थरिका मसला राखिन्छ । गर्मीको समयमा लसी पिए पछि केही राहत मिल्ने गर्दछ ।
घमन्जा
विभिन्न थरिका परिकार मध्ये नेपालगन्जको अर्को विशेष परिकार हो घमन्जा । गरिव, निम्न वर्ग र मजदुर बर्गमा यो परिकार लोकप्रिय छ । थोरै रुपैयाँमा पेटभरि खान पाइने भएकोले अधिकांश मजदुर र निम्न बर्गले घमन्जा खाने गरेका छन् । ब्रेडको टिकिया, भेडे खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकिया लगायतका परिकार एउटै ठाउँमा राखेर खान दिइन्छ ।
ढिक्री र घोङ्घी


विभिन्न जातजातिको बसोबास हुन थालेपछि नेपालगन्जमा अन्य समुदायका परिकार पनि भित्रिन थालेका छन् । नेपालगन्जमा पछिल्लो समय थारु जातिको प्रचलित तथा मुख्य परिकार ढिक्री, आलुको कचालु, सिध्रा माछा र घोङ्घीको परिकार पनि थपिएको छ ।
थारु जातिका सोमप्रसाद चौधरीले नेपालगन्जको कारकाँदोमा गोचाली खाजा घर संचालनमा ल्याएर ग्राहकलाई यी परिकार पस्कने गरेका छन् । थारुमा मात्र सिमिति रहेको ढिक्री र घोङ्घी पछिल्लो समय गैर थारुमा पनि लोकप्रिय भएको छ ।

Previous articleस्वास्थ्यकर्मी नभएको आइसोलेसनमा कोरोना संक्रमित
Next articleभारतीय संगीतकार वाजिद खानको अल्पायूमै निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here