हाइस दुर्घटनामा १२ जनाको मृत्यु, स्वाब संकलन सुरु

बाँके, १९ जेष्ठ ।
नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स हाइस गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट आएकालाई लिएर नेपालगन्जबाट सल्यानका लागि जाँदै गरेको ना ५ ख ५९९५ नं. को फोर्स हाइस कोहलपुर–लमही सडक खण्ड अन्तरगत राप्तीसोनारी गाउँपालिकाको ठुरे जंगलमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र दुई जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हाइसमा तीन चालक दल सहित ३३ जना सवार रहेको बाँके प्रहरीले जनाएको छ । आइतवार मध्यान्ह राती करिव ११ः३० बजे भएको दुर्घटनामा चालक, सह–चालक, कन्डक्टरको पनि घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी शमशेरगन्जका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए ।
घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा एक महिला, करिव १२ बर्षको बच्चा सहित १२ जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए । हाइस गाडी विग्रिएर सडक छेउमा रोकिराखेको बा ४ ख ९०६४ ट्रकमा ठोकिएको उनले बताए । मृत्यु हुनेको सनाखत अझैँ हुन सकेको छैन ।
मृतकको स्वाब संकलन सुरु
दुर्घटनामा मृत्यु भएकाको स्वाब संकलन सुरु भएको छ । मृतकको शव भेरी अस्पतालमा ल्याएर स्वाब संकलन सुरु गरिएको एसपी ओलीले बताए ।
उनीहरुको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । कोरोना रिपोर्ट आएपछि मात्र सब आफन्तलाई बुझाइने उनले जानकारी दिए ।

Previous articleहाइस दुर्घटनामा थप एकसँगै मृतकको संख्या ११ पुग्यो
Next articleहाइस दुर्घटनामा घाइते २१ जनाको नाम ठेगाना खुल्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here