कर्णाली भनेर चिनिन्थ्यो, अव नमुना गाउँपालिका बनाउँछौँ

इस्तियाक अहमद शाह
प्रमुख, नरैनापुर गाउँपालिका, बाँके

इस्तियाक अहमद शाह, नरैनापुर गाउँपालिकाका अध्यक्ष हुन् । उनलाई स्थानीयबासीले शम्भु मिँया उपनामले पनि चिन्दछन् । मुस्लिम समुदायबाट गाउँपालिकाको नेतृत्व गर्दै आएका उनी विकास प्रेमी नेताको रुपमा चिनिन्छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिका सुगम जिल्लाको दुर्गम र बाँकेको कर्णाली भनेर परिचित छ । नेपाली रुपैयाँ समेत चलन चल्ती नहुने गाउँपालिकाका अधिकांश नागरिक भारतीय बजारमा निर्भर हुँदै आएका छन् । अधिकांश मुस्लिम र मधेसी समुदायको मात्र बसोबास रहेको उक्त गाउँपालिकाको समग्र विकासका लागि के कस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहसँग गरिएको कुराकानीको सम्पादित अंश ।
तपाईले नेतृत्व गरेको गाउँपालिका विकासको दृष्टिले बाँकेको कर्णाली भनेर चिनिन्छ । तपाईले नरैनापुरको समग्र विकासका लागि कुन योजनालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
नरैनापुर गाउँपालिका बाँकेको कर्णाली भनेर चिनिन्छ । यहाँ यो वा त्यो विषय पहिलो प्राथमिकतामा छ भन्ने नै छैन । शिक्षाको अवस्था यहाँ एकदमै कमजोर छ । विद्यालयभन्दा घरमा बस्ने बालबालिकाको संख्या यहाँ धेरै छ । सरकारी शिक्षाभन्दा मदरसा शिक्षामा यहाँका बालबालिका र अभिभावकको आकर्षण देखिन्छ ।
शिक्षा बिना नरैनापुरको समग्र विकासको परिकल्पना गर्न सकिदैन भन्ने मान्यताका साथ हामी अगाडी बढेका छौँ । नरैनापुर गाउँपालिकालाई साक्षर घोषणा गर्न विभिन्न खालका योजना र कार्यक्रम ल्याइएको छ । बालिकालाई शिक्षामा आकर्षित गर्न विद्यालय जाने बुहारीलाई साइकल प्रदान गर्ने योजना गाउँपालिकाले अगाडी सारेको छ । बालिकालाई विद्यालयमा टिकाई राख्ने गाह्रो छ । शिक्षाको कमीका कारण समग्र विकासमा पछाडी परेको भन्ने बुझेर गाउँपालिकाले पहिलो पटक नरैनापुरमा ११ कक्षाको पढाई सुरु गरेको छ । यस अर्थमा गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ भन्न सकिन्छ ।
विकासका लागि तपाईको स्थानीय तहले कसरी काम गरिरहेको छ ?
नरैनापुर सदीयौँदेखि विकासको भोको छ । यहाँ राज्यको सबै संयन्त्र भएर पनि राज्यबाट टाढा रहनुपर्ने अवस्था छ । मधेसी र मुस्लिम बाहुल्य क्षेत्र भएकोले राज्यबाट हेपाहा दृष्टिले हेर्ने गरिन्छ । जसका कारण बजेट विनियोजन गर्दा पनि विभेद गरिन्छ ।
जनप्रतिनिधि आउनु अघि नरैनापुर गाउँपालिकामा एक मिटर पनि पक्की सडक थिएन । नेपालगन्ज आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले नरैनापुर गाउँपालिकामा १० किलोमिटर भित्री सडक पक्की भएको छ । हुलाकी सडकले नरैनापुरलाई नेपालगन्जसँग जोडेको छ । हरेक सडकलाई हुलाकी सडकसँग जोडिएको छ ।
स्वास्थ्यको कुरै नगरौँ । अत्याधुनिक भवनसहित प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्य सेवाका लागि गाउँपालिकाले आफ्नो बजेटबाट स्वास्थ्यकर्मी भर्ना गरेको छ भने स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि आवश्यक उपकरण खरिद गरि निशुल्क स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकारको प्रत्याभूती गराउने प्रयत्न गाउँपालिकाले गराई रहेको छ । सडक विस्तार विना विकास सम्भव नभएको निष्कर्षमा पुगेर बाटोघाटो पुलपुलेसा निर्माणलाई प्राथमिकता दिएका छौँ । कार्य गर्दैै आएका छौ । पहिलेको भन्दा अहिले धेरै विकासमा अगाडि बढेको छ ।
विद्युतिकरणका लागि के भइरहेको छ ?
नरैनापुर गाउँपालिकाको कुनै पनि वडामा विद्युत पुगेको छैन । यहाँका जनता सौर्य उर्जाको सहायतामा उज्यालो लिइरहेका छन् । विद्युतको पोल छ, तर तार तानिएको छैन । तार तानिएको छ, तर करेन्ट छैन । सर्वसाधारण जनतालाई उज्यालो प्रदान गर्न निशुल्क सोलार वितरण गर्दै आएका छौँ ।
अहिले हरेक घरमा सोलारको उज्यालो भए पनि पुगेको छ । तर, विद्युतिकरण नहुँदा यहाँ अहिलेसम्म एउटा पनि उद्योग संचालनमा आउन सकेको छैन । यहाँसम्मकी यहाँ एउटा पेट्रोल पम्प पनि खुल्न सकेको छैन । विद्युत नभएका कारण कृषि क्षेत्रमा पनि असर परेको छ । समग्रमा भन्दा नरैनापुर विकासभन्दा कैयौँ कोश टाढा भएको अवस्था छ । जनताको अपेक्षा र आकांक्षालाई मध्यनजर गरि जनताको भावना अनुरुप योजना बनाउँदै अगाडी बढिरहेका छौँ ।
जनप्रतिनिधि आएको दुई वर्ष वित्दा पनि विकासको अनुभूति गर्न नपाएको जनताको गुनासो छ, किन ?
स्थानीय तहको पहिलो अभ्यास भएकोले अहिले पनि हामी सिक्ने प्रक्रियामै छौँ । सिक्दै अघि बढेकोले पहिलो बर्ष काम गर्न असजिलो भयो । एक बर्षसम्म कानून बनाउन र सिक्दासिक्दै बित्यो । तै पनि हामीले जाने जति र हाम्रो बलबुताले भ्याएसम्म काम गर्ने प्रयत्न गरेका छौँ । सडकको अवस्था एकदमै नाजुक थियो अहिले धेरै सुधार भएको छ । सडकमा सुधार भएपछि नेपालगन्ज आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
शिक्षामा पनि सुधार आएको छ । विद्यालय जाने बालबालिकाको संख्या बढेको छ भने विद्यालयमा टिकाउन मुस्किल पर्ने अवस्था थियो त्यो पनि धेरै हदसम्म हामी सफल भएका छौँ । भारतीय अस्पतालको मुख ताक्नु पर्ने अवस्थामा पनि सुधार भएको छ ।
टेलिफोन पनि गुणस्तरिय थिएन । कुनै बेला भारतीय फोनमात्र प्रयोग गर्ने नरैनापुरका अधिकांशले नेपाली मोवाइल फोन प्रयोग गर्न थालेका छन् । पहिले नरैनापुर क्षेत्रमा आउन डराउने अवस्था थियो । नरैनापुर क्षेत्रमा गए मारेर फालिदिन्छन् भन्ने भ्रम थियो । त्यो पनि अन्त्य भएको छ ।
सवैभन्दा ठूलो उपलब्धि नरैनापुर क्षेत्रमा नेपाली रुपैयाँ चलन चल्तीमा ल्याउन सफल भएका छौँ । नरैनापुरमा बैंक स्थापना गरेर नेपाली रुपैयाँको कारोवार गराउन सफल मात्र भएका छैनौँ नरैनापुरबासीलाई नेपाली भएको महशुस गराउन सफल भएका छौँ ।
गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
नरैनापुरलाई एउटा रोल मोडेल गाउँपालिकाको रुपमा विकास गर्ने हाम्रो योजना छ । राज्यले दुर्गम गाउँपालिका घोषणा गरेको छ, तर नरैनापुरलाई त्यो अनुसारको सेवा सुविधा राज्यले दिन सकेको छैन । दुर्गम गाउँपालिका घोषणा गरेर विकासका लागि योजना दिनुपर्ने हो त्यो नदिँदा बार्षिक रुपमा पाउने अनुदानको भरमा गाउँपालिकाको विकास गर्नुपर्ने अवस्था छ । तै पनि प्राथमिकताको आधारमा बजेट बाँडफाड गरि जनताको माग सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ ।
तपाईको कार्यकालमा सवैभन्दा उत्कृष्ट काम कुन भएको जस्तो लाग्छ ?
जनप्रतिनिधि आएपछि बघौडा क्षेत्रको रुपमा चिनिएको नरैनापुर गाउँपालिकाले विकासमा धेरै ठूलो फड्को मारेको छ । यस शैक्षिक सत्रबाट ११ कक्षाको पढाई सुरु गर्न सफल भएका छौँ । मेरो कार्यकालमा यो नै सबैभन्दा उत्कृष्ट काम भएको मलाई लागेको छ । यसले उच्च शिक्षाका लागि नेपालगन्ज आउनुपर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य सेवा विस्तारमा पनि उल्लेख्य प्रगति भएको छ । १० बर्षदेखि निर्माण हुन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण पूरा भएको छ । यही भवनमा १५ शैयाको अस्पताल चलाउने प्रक्रिया पनि अगाडी बढिसकेको छ । यो पनि जनप्रतिनिधिको ठूलो उपलब्धिको रुपमा लिनु पर्छ ।
प्रदेश सरकारको सहयोगमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना अनुसार डिपीआर तयार भई निर्माण सुरु भएको छ । केन्द्र सरकारले रङ्गशालासम्म पुग्ने बाटो निर्माणका लागि सहयोग गरेको छ । उक्त सडक निर्माणको काम पनि सुरु भइसकेको छ ।
तपाईको गाउँपालिकाले भोग्नु परेका मुख्य समस्या के–के हुन् ?
सबैभन्दा ठूलो समस्या सडक सञ्जाल हो । सडकको अवस्था नाजुक रहेकोले सदरमुकाम पुग्न घण्टौँ लाग्ने अवस्था अझैँ विद्यमान छ । सीमानामा भारतले बनाएको बाँध रुपी सडक अर्को समस्याको रुपमा देखिएको छ । यसले डुवानको समस्या निम्त्याएको छ । कहिलै डुवान नहुने ठाउँ पनि भारतले बनाएको सडकका कारण डुवानमा पर्न थालेका छन् । यो गाउँपालिकाका लागि अर्को समस्याको रुपमा देखिएको छ ।
सवैभन्दा ठूलो समस्या विजुली बत्तीको छ । विद्युत नहुँदा उद्योग धन्धा, कलकारखाना, सिँचाइ जस्ता अति आवश्यक काम अगाडी बढ्न सकेको छैन । विद्युत नभएका कारण अहिलेसम्म एउटा पनि उद्योग नरैनापुर गाउँपालिकामा खुल्न सकेको छैन । यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्छ । नरैनापुर बाँकेको सुगम जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here