थारु र मुगेली संस्कृतिको समिश्रण ‘गाभर भ्याली होमस्टे’

बाँके, ३ असोज ।
कर्णाली प्रदेश र सुदूरपश्चि प्रदेशको प्रवेशद्वारमा ‘गाभर भ्याली’ सरकारले सूचीकृत गरेको सय गन्तब्य मध्ये एउटा हो । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा रहेको गाभर भ्याली नेपालगन्जबाट २३ किलोमिटर र कोहलपुरबाट सात किलोमिटर उत्तरमा छ । गाभर भ्यालीमा गाभर सामुदायिक होमस्टे संचालनमा छ । त्यहाँ जीप, कार, बस, मोटरसाइकल, साइकल, अटोरिक्सा, ई–रिक्साबाट सजिलै पुग्न सकिन्छ ।
जैविक विविधता र थारु एवम् मुगेली संस्कृति, संस्कार, परिकार र खानाको स्वाद होमस्टेमा लिन सकिन्छ । यहाँ आउने पर्यटकका लागि जंगल सफारी, हात्ती सफारी, हाइकिङ, थारु र मुगेली संस्कृतिमा आधारित नाचगान हेर्ने पाइन्छ । पर्यटकको माग अनुसार, जंगली जनावर, चराचुरुंगीको अवलोकन गराउने र गाउँ तथा बाँके राष्ट्रिय निकुुञ्जको रमणिय ठाउँको अवलोकन गर्न सकिन्छ ।
गाभर भ्यालीबाट चुरे पर्वत र हिमालको रमणिय दृष्यका साथै चराचुरिङ्गी हेर्न सकिन्छ । गाभर भ्याली बाँके जिल्लाको नमूना पर्यापर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा र बर्दिया राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गाभर भ्याली जैविक विविधताले सम्पन्न गाउँ हो ।
काखैमा चुरे पहाडको मनोरम दृष्य देखिने गाभर बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । जैविक विविधताको संरक्षण गर्दै पाटे बाघ हेर्नका लागि विकास गर्न यस गाउँमा पर्यापर्यटकीय गतिबिधि अन्तरगत गाभर भ्याली सामुदायिक होमस्टे स्थापना गरी संचालनमा ल्याइएको संचालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
होमस्टेमा को को आए ?
कर्णाली र सुदूरपश्चिम प्रदेश जाने मुख्यद्वारमा रहेको गाभर भ्याली होमस्टेमा बास बस्न र खाना खान राजनीतिक दलका प्रमुखसहित पूर्व प्रधानमन्त्री, मन्त्री, सरकारी निकायका प्रमुख, विदेशी कुटनीतिक नियोगका प्रमुख लगायत आइसकेका छन् ।
नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई होमस्टेमा आइसकेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए । ‘कर्णाली प्रदेश र सुदूरपश्चिम आउजाउ गर्ने क्रममा आएर खानपान गर्नुका साथै आराम गरेर फर्किनु हुन्छ,’ उनले भने ।
निकुञ्जमा के के जनावर हेर्न पाइन्छ ?
बाँके राष्ट्रिय निकुञ्ज पाटे बाघ संरक्षणका लागि स्थापना गरिएको हो । निकुञ्जमा १३ वटा पाटेबाघ रहेको निकुञ्जले जनाएको छ । सफारीका क्रममा पाटेबाघ, हात्ती, चौका, हु्ँडार, राजधनेश, सालक, निलगाई, चितुवा, चित्तल, लालगुना, रतुवा, बँदेल, बाँदर, सुनगोहोरो, अजिंगर सर्प र विभिन्न प्रजातिका चराचुरुंगी देख्न सकिन्छ ।
त्यसैगरि, निकुञ्जको माथि २५ क्षेत्रफलमा सालको जंगल रहेको असना, जामून, ढेउठी, सिमल, सिसौ जातका साथसाथै विभिन्न प्रजातिका घाँसेमैदान तथा अन्य विभन्न किसीमका रुखविरुवाबाट आनन्द लिन पाइन्छ ।
होमस्टेमा पारिवारिक आतिथ्यता
गाभर भ्याली होमस्टेमा जाने पर्यटकलाई थारु र मुुगेली समुदायमा आधारित स्वागत सत्कार गरिन्छ । भने, थारु र मुगेली समुदायमा आधारित खानाका परिकार, थारु र मुगेली संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम हेर्ने ब्यवस्था छ ।
शान्त र पर्यावरणीय वातावरण रहेको गाभर भ्याली होमस्टेमा अर्गानिक खाना र आरामदायी बसाईका साथै पारिवारिक आतिथ्यता दिने गरिन्छ । होमस्टेमा शौचालय सहितको बास बस्ने कोठा र परम्रागत शैलीको तालिम हलको समेत ब्यवस्था छ । ‘घरको सदस्यको रुपमा पर्यटकलाई खाना, परिकार दिने र बासको ब्यवस्था गरिन्छ,’ गाभर भ्याली होमस्टे संचालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले भने ।
पश्चिमा थारु र मुगेली स्थानीय परिकारको स्वाद
गाभर भ्याली होमस्टेमा थारु समुदायको परम्परागत खाना र परिकारको स्वाद लिन सकिन्छ । पर्यटकलाई पश्चिमा थारु समुदायको परिकारले स्वागत, सत्कार गरिन्छ । ढिक्री, अनदीको भात, बरिया, कचालु, सिंकी (गुन्द्रुक), घोंघी, गंगटा, परेवा, मुसाको चटनी, लोकल कुखुराको मासु, झिंगे माछा, सिद्रा माछा, निगार, अनदीको रोटी, मौसम अनुसारको फलफुल र अर्गानिक साग सब्जी खान पाइन्छ ।
मुगेली खानाका परिकार खुवाउने होमस्टेको पनि गाभर भ्यालीमा ब्यवस्था छ । मुगेली संस्कृतिका होमस्टेमा मकैको पुरी, कोदोको रोटी, जुम्ली मार्सी चामलको भात, कोदोको ढिँडो, सिस्नुको तरकारी, दही, दुध, पुरी, जडीबुटीको चिया, जडीबुटी मसलाले पर्यटकलाई सत्कार गरिन्छ ।
थारु संस्कृति बोकेको होमस्टे
होमस्टेमा थारु साँस्कृतिक नाच हेर्ने ब्यवस्था छ । थारु समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, महोट्या, पैँया नाचका साथै थारु समुदायको पौराणिक कला, संस्कृति, भेषभुषाका साथै थारु समुदायले प्राचिन कालदेखि प्रयोग गर्दै आएका खराउ, देवीदेवता, धान रोप्ने बेला ओढ्ने बाँसको छट्री, डुनाटपरी, लुगा राख्ने भौँका, भौँकीको अवलोकन गर्न पाइन्छ ।
थारु समुदायको जिवित कलासंस्कृति होमस्टेमा हेर्न र अवलोकन गर्न पाइन्छ । थारु पहिरन लगाएका महिला र यूवतीले पाहुनालाई माटाको गोल्रा, करई, क¥वामा पानी पिउन दिइन्छ । łयहाँ पुगेपछि थारु गाउँमै गएर खानपिन गरे जस्तो लाग्छ,’ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने ।
चराचुरुङ्गीको आवाजसँगै खानपिन गर्न पाइने उनको भनाई छ । ‘शान्त बातावरणमा थारु परम्परागत खाना र आतिथ्यताले रमणिय बनेको गाभर भ्याली होमस्टेले थारु समुदायको संस्कृतिलाई जोगाएको छ,’ उनले भने ।
पर्यटकका लागि विशेष प्याकेजको ब्यवस्था
गाभर भ्याली होमस्टेले पर्यटकका लागि विशेष प्याकेजको ब्यवस्था समेत गरेको छ । अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, दुई दिन एक रातका लागि गाभर क्षेत्र अध्ययन र बाँके राष्टिय निकुञ्जको अवलोकनको ब्यवस्था छ । त्यसैगरि, चार दिन तीन रातका लागि चिसापानी क्षेत्र (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) भ्रमण गर्न पाइन्छ । भने, राराबास देखि रारा तालसम्म लैजाने र ल्याउने ब्यवस्था पनि होमस्टेले गरेको छ । ‘चरा अवलोकनका लागि बढैया ताल, घोडाघोडी ताल र सत्खल्वा तालमा लैजान प्याकेज पनि होमस्टेले दिएको छ,’ अध्यक्ष चौधरीले भने ।
होमस्टेमा कसरी पुग्ने ?
काठमाडौँबाट आउने पर्यटक कोहलपुर चौराहमा ओर्लिनु पर्ने हुन्छ । कोहलपुर चौराहबाट सुर्खेतरोड तर्फ सात किलोमिटर उत्तर गएपछि गाभर चोक आउँछ । गाभर चोकबाट झण्डै डेढ किलोमिटर पूर्व उत्तर गएपछि गाभर भ्याली होमस्टेमा पुगिन्छ ।
काठमाडौँबाट आएकाहरु कोहलपुर चौराहबाट बसबाट गाभर चोक जान सकिन्छ । बसमा जान नचाहनेले अटो रिक्सा र ई–रिक्सको सहायताले पनि गाभर चोक पुग्न सकिन्छ । त्यहाँबाट अटो रिक्सा वा पैदल हिडेर पनि गाभर भ्याली होमस्टे जान सकिन्छ ।
हवाई मार्गबाट काठमाडौँबाट नेपालगञ्ज एयरपोर्ट ओर्लेर अटो रिक्साबाट गाभर चोक वा सिधै गाभर भ्यालीमा पुग्न सकिन्छ ।
पर्यटकीय स्थलका आकर्षण के के छ ?
गाभर भ्यालीबाट बाँके राष्ट्रिय निकुञ्जको अवलोकनका साथै स्थानीय विविध गतिविधिको पनि दृष्यावलोकन गर्न सकिन्छ । गाभर होमस्टेबाट जीप सफारी, हात्ती सफारी, उपत्यका पदमार्ग, पर्यापर्यटन पदमार्ग, जंगल वाक र चुरे हाईक गर्न सकिन्छ ।
त्यसैगरि, लायन्स गाभर पार्क घुमफिर, अष्ट्रिज फर्म, भ्याली एग्रो फर्म, कृषि अनुसन्धान केन्द्रको अवलोकन र अध्ययन गर्न सकिन्छ । गाभर भ्याली होमस्टेले घोडचढी, साइकल यात्रा, थारु संग्रहालय र संरक्षित क्षेत्रमा क्याम्पिङ्ग गर्ने ब्यवस्था पनि मिलाएको छ ।

Previous articleकृषि यान्त्रिकरणमा कृषकको आकर्षण, उत्पादन लागतमा कमी
Next articleचित्रकला बनाउँदा स्वर्गीय अनुभूती हुन्छः श्यामानन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here