चित्रकला बनाउँदा स्वर्गीय अनुभूती हुन्छः श्यामानन्द

बाँके, १७ जेष्ठ ।
नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँका श्यामानन्द सिंह ठकुरी पेशाले नेपाल टेलिकमका सेवा निबृत अधिकृत स्तरका कर्मचारी हुन् । उनको परिवारलाई पेनसनको पैँसाले मज्जासँग खान, लाउन पुग्छ । अन्य सेवा निबृत कर्मचारीलाई समय विताउन गाह्रो भइरहेका बेला श्यामानन्दलाई भने विहान उठेदेखि नसुत्दासम्म फुर्सद छैन । उनी विहान उठेदेखि नसुत्दासम्म हस्तकला र चित्र कोर्नमै ब्यस्त रहन्छन् । उनी हरेक दिन नयाँ ठाउँ र शैलीका चित्र कोर्छन् र आफूलाई मन परेको हस्तकला बनाउँछन् ।
काम गर्न उनलाई कसैको दवाव र करकाप छैन । न त उनले पैँसा कमाउनका लागि नै हस्तकला र चित्रकलाको काम गर्छन् । ‘मैले पैँसा कमाउनका लागि नभई मनमा जागेको रहर र आफ्नो इच्छा पूरा गर्नका लागि मात्र हस्तकला र चित्रकला बनाउँछु,’ उनले भने ।
उनले जिन्दगी हस्तकला र चित्रकलामा लुटाएको बताउँछन् । विहानको नृत्यकर्म पछि हस्तकला र चित्रकला कोर्ने उनी खाना खान समेत विर्सिन्छन् । चित्रकला र हस्तकला उनका लागि लागूपदार्थ जस्तै नसा बनेको छ । ‘चित्र र हस्तकला बनाउन नपाउने हो भने लागू पदार्थ सेवन गर्न नपाएको ब्यक्ति जस्तै म छट्पटाउँछु, के–के गुमाएको जस्तो अनुभूती हुन्छ,’ श्यामानन्दले भने, ‘चित्र र हस्तकला मेरो जीवनमा लागूऔषध जस्तै भइसकेको छ ।’
श्यामानन्दका लागि चित्रकला र हस्तकला जीवनका एउटा अभिन्न अंग जस्तै भइसकेको छ । त्यसैले उनी हरेक दिन यसैमा बिताउँछन् । र, रमाउँछन् पनि । उनलाई चित्र र हस्तकला बनाउन पाए पुग्छ । ‘मिठो खाने कुरा, राम्रो लगाउने र मनोरन्जन गर्नेभन्दा चित्रकला कोर्न र हस्तकलामा रमाउन पाए स्वर्गिय अनुभूती हुन्छ,’ उनले भने ।
सानै उमेरदेखि चित्र कोर्ने र हस्तकला बनाउने शौख थियो उनमा । खेतमा गएका बेला पानी तान्ने मोटरको पंखा घुमेको देखेपछि ब्याट्रीमा जुत्तामा लाउने पालिसको बट्टा जोडेर मोटर बनाएको उनी सम्झिन्छन् । उनलाई सानो छँदा चित्रकला र हस्तकलाका सामग्री बनाउने शौख भए पनि खरिवीका कारण पूरा हुन सकेको थिएन ।
घरमा खान लाउन समस्या भएकोले उनले आफूमा भएको इच्छा र रहर दवाएर राखे । ‘धेरैजसो समय काममा ब्यस्त हुनु पथ्र्यो । łसाँझ, विहानको छाक टार्न समस्या भएकोले हस्तकला तथा चित्रकला कोर्ने सामग्री खरिद गर्न सक्ने कुरै भएन,’ उनले भने, ‘चित्र कोर्ने र हस्तकलाका सामग्री बनाउने सवै इच्छा दवाएर बस्नुको विकल्प थिएन ।’
नेपाल टेलिकममा खरिदारको जागिरी खाएपछि मात्र उनले आफूमा भएको खुवी र दक्षता प्रदर्शन गर्न थाले । ‘शौख भएर मात्र आफ्नो कला प्रदर्शन गर्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘जागिरी खाएपछि मात्र हस्तकला र चित्रकला बनाउने अवसर जु¥यो ।’
हस्तकला बनाउने सामान किन्दा श्रीमतिको कचकच

उनीसँगै नेपाल टेलिकममा जागिरी खाएका साथीहरुले काठमाडौँ लगायत ठूला शहरमा घर बनाएका छन् । तर उनले नेपालगन्जमा बल्लतल्ल घर बनाएका छन् । उनले जागिरी गर्ने बेला पैँसा कमाउने भन्दा चित्रकला र हस्तकला बनाउनेमा नै शौख थियो ।
उनले आफ्नोे तलवको १० प्रतिशत रकम चित्रकला र हस्तकला बनाउन प्रयोग हुने सामग्री खरिद गर्थे । कुनै–कुनै महिनामा त्यो भन्दा पनि धेरै रकम खर्च गरेको उनले सुनाए । ‘तलव आउनासाथ बजारबाट चित्र र हस्तकला बनाउने सामग्री किनेर घर जान्थे, सामान किनेको देखेर श्रीमति कचकच गर्थिन, तै पनि मैले सामान किन्न छोड्दैनथे,’ उनले विगतलाई सम्झिए ।
उनको शौखलाई परिवारका सदस्यले पनि विस्तारै बुझ्दै गए । हात बस्दै गएपछि उनले राम्रा–राम्रा चित्र र हस्तकलाका सामान बनाउन थाले । उनले बनाएका चित्र र हस्तकलाका सामान फाटफुट रुपमा विक्री पनि हुन थाल्यो ।
उनले गरेको मेहनत र लगानी अनुसारको मूल्य नपाएपछि परिवारका सदस्यले चित्त बुझाउँदैनथे । तै पनि उनले परिवारका सदस्यलाई फकाउँथे । सुरु–सुरुमा त समस्या भयो, पछि गएर मेरो इच्छा र रहर बुझेपछि मेरो काममा सहयोग गर्न थाले, परिवारको सहयोगले नै म आज कलाकारको रुपमा चिनिएको छु,’ श्यामानन्दले भने ।
उनले अहिलेसम्म एक सय भन्दा धेरै चित्रकला कोरिसकेका छन् । भने, एक हजार पाँच सय भन्दा धेरै हस्तकलाका सामान उत्पादन गरेका छन् । बनाएका धेरै चित्रकला र हस्तकला विक्री भइसकेका छन् ।

आफ्नै निजी घरमा चित्रकला संग्रहालय
नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा उनको दुईतले घर छ । भूइँतलामा परिवारसहित बस्ने गरेका उनले माथिल्लो तलाको चार वटा कोठामा आफूले तयार पारेका हस्तकला र चित्रकलाका सामान सजाएर राखेका छन् । उनले माथिल्लो तलाको चार वटा कोठालाई हस्तकला र चित्रकलाको संग्रहालय बनाएका छन् ।
एकल प्रयासमा संचालनमा ल्याएको उक्त संग्रहालयमा खेर जाने कागज र प्लाष्टिकबाट तयार पारिएका हस्तकला एवम् चित्रकलाका सामग्री देख्न र हेर्न पाइन्छ । उनले घर, बजार, बस्ती र समाजमा पाइने बस्तु, कागज, प्लाष्टिक र काठको सहायतामा तयार पार्दै आएका छन् । ‘चित्रकला र हस्तकला बनाउन पेन्ट (रंग), ब्रस, सुपरग्लु, फेविकोल, ग्लुस्टिक जस्ता सामान मात्र बजारबाट किन्छु, बाँकी सवै खेर जाने बस्तुबाट तयार गरिन्छ,’ उनले भने ।
भुइँतलाको आफू सुत्ने कोठाको बेडमा समेत उनले चित्रकला विछ्याएर राखेका छन् । राख्ने ठाउँ नभएपछि बेडको तल चित्रकलाका सामग्री राखेको उनले बताए । ‘दुईतले घरको कोठामा चित्रकला र हस्तकलाका सामग्री राख्ने ठाउँ नभएपछि बेडको तलसमेत राखेको छु,’ चित्रकला देखाउँदै श्यामानन्दले भने ।
संग्रहालयमा भाँडावर्तनदेखि तोप र एके फोर्टीन राइफल
श्यामानन्दले कागजको विभिन्न थरिका फलफूल बनाएका छन् । उनले बनाएका फलफूल देख्नेले छुट्याउन कठिन हुन्छ । चित्रकला र हस्तकला बनाउन दिलोज्यान लगाउने उनले प्लाष्टिक र कागजको भाँडावर्तन, कप, बट्टा, घर, मन्दीर, धरहरा, जुंगे महादेव, खानेपानी टंकी, अवधि संस्कृतिको डोली, लालटिन, चराचुरुंगी, हेलिकप्टर, जहाज, कागजको एके फोर्टिन राइफल, बन्दुक, घर जस्ता सामग्री तयार गरेर संग्रहालयमा राखेका छन् ।
उनले तरवार, हनुमानको दण्ड, लालटिन, प्लाष्टिकको तोप, हेलमेटबाट कछुवा, रुख, जनावर, बयल गाडा, रोटे पिङ, साइकल, बस, जाँतो, धुनष, कुँवा, टांगा लगायतका हस्तकला तयार गरेर संग्रहालयमा सजाएका छन् ।
उनले अवधि संस्कृति झल्किने चित्रकलालाई बढि प्राथमिकता दिने गरेका छन् । अवधि संस्कृति झल्किने कम्तीमा ५० वटा चित्रकला तयार गरि बजारमा पठाएको उनले बताए । तयार गरिएका चित्रकला काठमाडौँ, पोखरा, विराटनगर, वीरगन्ज, नेपालगन्जका ठूला होटल र नाम चलेका ब्यक्तिले किन्ने गरेको उनले बताए । उनले आफूले विक्रीका लागि नबनाए पनि अवलोकनका लागि संग्रहालयमा आउने र प्रदर्शनीमा राखेका बेला विक्री हुने गरेको बताए । ‘देखेकाहरुले फोन मार्फत पनि अर्डर गर्नु हुन्छ,’ उनले भने ।

चित्रकलासँगै बाद्यबादनमा पनि उत्तिकै रुची
चित्रकला र हस्तकलामा मात्र नभई उनले साहित्यमा समेत रुची राख्दछन् । उनले बासुरी, तवला, हारमोनियम र मादल मजाले बजाउँछन् । उनको मुख्य बाद्य बादन चाहिँ बाँसुरी हो । उनले बाँसुरीको धुनले मोहित बनाएर दाङबाट अन्तर जातिय विवाह गरे ।
औलो उन्मुलन कार्यक्रममा जागिरे भएको बेला उनको जागिरी दाङमा थियो । जागिरी भएको ठाउँका सर्वसाधारणलाई भेला पारेर भजन किर्तन गर्थे उनले । उनले सुरिलो स्वरमा बासुरी बजाएर भजन, किर्तनमा सहभागीलाई मोहित बनाउँथे । त्यहि बेला उनको दाङकी यूवतीसँग प्रेम बस्यो र भगाएर नेपालगन्ज ल्याए ।
विवाह गर्नासाथ उनी श्रीमति लिएर फेरी दाङ गए । तर, उनका ससुराली पक्षले कुनै आपत्ती जनाएनन् । ‘बासुरी बजाएर मैले सवैलाई मोहित बनाएको थिएँ,’ उनले भने, łविरोध गर्नसक्ने अवस्था नै थिएन ।’
साहित्य सिर्जनामा अब्बल
श्यामानन्द सिंहको जीवनी चित्रकला, हस्तकला र बाद्यबादनमा मात्र सीमित छैन । उनको कलम साहित्य सिर्जनामा पनि उत्तिकै चल्ने गरेको छ । उनको ‘वर्तमान दर्पण’ काब्य संग्रह र ‘श्यामानन्दकी कवितायाँ’ हिन्दी भाषामा कविता संग्रह प्रकाशनमा छ ।
उनले झण्डै एक सय सडक नाटक लेखन र अभिनय गरेका छन् । उनले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निभाएका थिए । उक्त टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो । उनले थुप्रै रेडियो नाटक लेख्नुका साथै कलाकारको भूमिका निभाइसकेका छन् । त्यसैले उनले बरिष्ठ कलाकारको सम्मान पाएका छन् ।
जागिरबाट पैँसा, कलाकारिताबाट नाम र सम्मान
जागिरीबाट पैँसा कमाए पनि उनले कलाकारिताबाट थुप्रै पुरस्कार, सम्मान पाएका छन् । अवधि संस्कृतिको उत्कृष्ट चित्रकला तयार पारेका उनलाई राष्ट्रिय ललितकला प्रतिष्ठानले राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत गरेको छ । उनले हालसम्म कम्तीमा ५० वटा पुरस्कार, सम्मान र प्रशंसा पत्र प्राप्त गरिसकेका छन् । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पुरस्कार प्रदान गरेको सम्झना उनमा ताजै छ ।
उनले बनाएको अवधि संस्कृतिको चित्रकलाको मूल्य राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ मा राष्ट्रिय ललितकला प्रतिष्ठानले २० हजार रुपैयाँ तोकेको थियो । ‘जागिरीले पैँसा दियो, तर कलाकारिताले सम्मान र प्रशंसापत्र दिएर सम्मान बढाएको छ, विभिन्न समयमा राष्ट्रिय स्तरको पुरस्कार पनि कलाकारिताले दिएको छ,’ उनले भने ।
उनले जागिरी भन्दा कलाकारिताबाट नाम र इज्जत कमाएको बताए । उनले टेलिकमको जागिरीले ओत लाग्ने घर र एक छाक गासको ब्यवस्था भएको बताए । ‘नाम र इज्जत कलाकारिताबाट कमाएको छु,’ उनले भने ।
कलानै जीवन हो
उनले कलानै जीवन भएको बताउँछन् । तर, कलाकारिताले पेट पाल्न सकिने बातावरण नेपालमा अझैँ बन्न नसकेको उनको भनाई छ । कलाकारिताबाट पेट पाल्न नसकिने भएकोेले कलाकारलाई साइड ब्यापार वा जागिरी खानै पर्ने बाध्यता भएको उनले बताए । ‘टेलिकममा जागिरी नखाएको भए घर बनाउन सकिन्थ्यो होला,’ उनले भने, łकलाकारिताले पेट पाल्ने अवस्था अझैँ बनिसकेको छैन ।’

Previous articleथारु र मुगेली संस्कृतिको समिश्रण ‘गाभर भ्याली होमस्टे’
Next articleआँगनमै प्राथमिक स्वास्थ्य केन्द्र, तै पनि भारतीय अस्पतालको भर पर्नुपर्ने बाध्यता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here