बाँके, १७ जेष्ठ ।
बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि एकदमै थोरै विरामी आउने गरेका छन् । सरकारले राप्ती नदी पारीका विरामीलाई लक्षित गरि प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा ल्याए पनि दरवन्दी अनुसार मेडिकल अधिकृत नहुँदा त्यस क्षेत्रका विरामीले अकालमा ज्यान गुमाउनु परेको छ ।
स्वास्थ्य केन्द्र संचालनका लागि दुईतले सुविधा सम्पन्न भवन समेत निर्माण भएको छ । ४० बढि रहेको उक्त भवनमा प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा छ । तर, विरामी नआउँदा उक्त प्राथमिक स्वास्थ्य केन्द्र दिनभर सुनसान जस्तै हुन्छ । साविक गंगापुर, मटेहिया, नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गाविसलाई लक्षित गरि संचालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि चिकित्सक नहुँदा नरैनापुर क्षेत्रका सर्वसाधारण भारतबाट आएका झोले स्वास्थ्यकर्मीको भरमा उपचार गराउन बाध्य भएको स्थानीय फिरोज अहमद शेषले बताए । ‘मोटरसाइकलमा विहान आउने र दिनभर विरामीको उपचार गरेर फर्किने झोले स्वास्थ्यकर्मीको भरमा उपचार गराउन बाध्य छौँ,’ उनले भने ।
भारतीय झोले स्वास्थ्यकर्मीले दिएको औषधि खाँदा दुईजनाको मृत्यु
भारत, श्रावस्ती जिल्ला मनकौरा गाउँका झोले स्वास्थ्यकर्मी राजेश सिंहले उपचार गर्ने क्रममा नरैनापुर गाउँपालिकाका दुई जनाले गत ९ मंसिरमा ज्यान गुमाए । आफूलाई डाक्टर भनेर दावी गर्ने भारतबाट आएका झोले स्वास्थ्यकर्मीले उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएको हो ।
उपचारका क्रममा नरैनापुर गाउँपालिका–५, मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेन्दवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले खाना खाएपछि वान्ता भएको र उपचारका लागि आएका झोले स्वास्थ्यकर्मी सिंहले रोग पहिचान नगरि अनुमानको भरमा औषधि दिएपछि दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिब २५ वर्षदेखि गाउँमा अवैधरुपमा क्लिनिक सञ्चालन गर्दै आएका सिंहले दिएको औषधि सेवन गर्दा धेरैले ज्यान गुमाउन परेको स्थानीय मायाराम धोबीले बताए । ‘हामीलाई थाहा भएन, तर उनले दिएको औषधि सेवन गरेर अहिलेसम्म धेरैले ज्यान गुमाइसकेका छन्,’ उनले भने ।
दुई जनाको मृत्यू भएपछि नरैनापुर क्षेत्रमा अवैधरुपमा क्लिनिक सञ्चालन गर्दै आएका भारतीय स्वास्थ्यकर्मीको क्लिनिक बन्द गरिएको छ । ‘नेपालको स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि भारतीय स्वास्थ्यकर्मीसँग उपचार गराउनुको विकल्प छैन,’ नरैनापुर गाउँपालिका–३, का मोहम्मद सरिफ खानले भने ।
हेल्थ असिस्टेन्टको भरमा प्राथमिक स्वास्थ्य केन्द्र
विगत एक बर्षदेखि प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत विहिन छ । मेडिकल अधिकृत नआएपछि हेल्थ असिस्टेन्टले प्राथमिक स्वास्थ्य केन्द्र चलाउँदै आएका छन् । विरामीको चापलाई मध्यनजर गरि मेडिकल अधिकृतको माग गरिए पनि अहिलेसम्म सरकारबाट कुनै सुनुवाई नभएको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।
‘मेडिकल अधिकृतको माग गरेर थाकीसके, तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन,’ उनले भने, ‘हाम्रो माग सुन्ने यो राज्यमा कोही भएन । गुणस्तरिय स्वास्थ्य सेवा नपाएर यहाँका सर्वसाधारणको अकालमा ज्यान जाने भयो ।’ उनका अनुसार, एक स्टाफ नर्स र दुई जना अनमिको दरबन्दी पनि खाली छ । समायोजन भएर आउने स्टाफ नर्स नआएका कारण स्वास्थ्य केन्द्र स्टाफ नर्स विहिन भएको उनले बताए ।
नेपालभन्दा भारतमा उपचार गराउन सजिलो
सरकारले कराडौँ खर्चेर निर्माण गरेको स्वास्थ्य केन्द्र भवनका धेरै कोठा प्रयोगविहिन छन् । उपचारका लागि विरामी नआउने भएकोले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी घाम तापेर दिन बिताउँदै आएका छन् ।
त्यहाँका अधिकांश विरामी उपचारका लागि भारतको बहराइच, भिंगा र लखनउका अस्पतालमा जाने गरेका छन् । भारतमा भाषा, बोलीचाली र रहनसहन मिल्ने भएकोले नेपालगन्जका अस्पताल भन्दा भारतका अस्पतालमा उपचार गराउन सहज लाग्ने गरेको लक्ष्मणपुरका अर्सद शेषले बताए । ‘नेपालगन्ज जानुभन्दा भारत जान सजिलो लाग्छ । नेपालभन्दा भारतमा सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा पाइन्छ,’ उनले भने ।
अल्ट्रासाउण्ड लगायतका उपकरण प्रदान
चिकित्सक र परीक्षण गर्ने पर्याप्त उपकरण अभावमा गुणस्तरिय स्वास्थ्य सेवा दिन नसकेकै बेला कतार च्यारिटीको सहयोगमा बाँके यूनेस्को क्लवले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई झण्डै १५ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । नरैनापुर क्षेत्रका बासिन्दालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने उद्देश्यले स्वास्थ्य सम्बन्धि उपकरण प्रदान गरिएको बाँके यूनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।
एक थान अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) मेसिन, आठ थान फोल्डिङ बेड, डेलिभरी बेड, ह्वील चियर, विरामी बोक्ने ट्रली लगायतका सामग्री प्रदान गरेको क्लवले जनाएको छ । एक कार्यक्रमका वीच गाउँपालिका प्रमुख शाह, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नविन बुढा क्षेत्रलाई स्वास्थ्य सम्बन्धि उपकरण हस्तान्तरण गरिएको थियो ।
युनेस्कोले दिएका उपकरण तत्काल प्रयोगमा नआउने
तर, प्रदान गरिएका उपकरण तत्काल प्रयोगमा नआउने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नै छैनन् । भने, अल्ट्रासाउण्ड मेसिन चलाउने रेडियोलोजिष्ट तत्काल ब्यवस्था गर्न सक्ने अवस्था छैन । ‘अल्ट्रासाउण्ड मेसिन चलाउनका लागि हामीसँग विद्युतको ब्यवस्था पनि छैन,’ स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बुढा क्षेत्रीले भने ।
उनले अल्ट्रासाउण्डभन्दा तत्काल डिजिटल एक्स–रे जरुरत भएको बताए । उनले एक्स–रे चलाउनका लागि गाउँपालिकाले रेडियोग्राफर नियुक्त गर्न सके पनि रेडियोलोजिष्ट ल्याउन सक्ने अवस्था नरहेको बताए । ‘विरामीलाई भर्ना गर्ने बातावरण नै छैन, विरामीका लागि दिएको बेड पनि तत्कालै प्रयोगमा आउने सम्भावना छैन,’ उनले भने ।